2026/03/15

सुदूरपश्चिममा महिला उम्मेदवार न्यून, ६ जिल्ला महिलाविहीन

Admin

२०८२-१०-०८

210
Shares

माघ ७, २०८२

अछाम — सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा निर्वाचनका लागि महिला उम्मेदवारको संख्या अत्यन्त न्यून देखिएको छ । दलहरूको छनोटमा नपर्दा प्रदेशका ९ मध्ये ६ जिल्ला महिला उम्मेदवारविहीन बनेका छन् । मुलुकका प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले सुदूरपश्चिममा एक जना पनि महिला उम्मेदवार उठाएका छैनन् भने नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक–एक जना महिला उम्मेदवार मैदानमा उतारेका छन् ।

प्रदेशका बाँकी तीन जिल्लाबाट मात्र १८ जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कैलालीका पाँचै निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले र नेकपाजस्ता प्रमुख दलले महिला उम्मेदवार नबनाएको पाइएको छ । नेपाल मजदुर किसान पार्टी, मितेरी नेपाल पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाजस्ता साना दलहरूले भने कैलाली र कञ्चनपुरमा मात्र महिला उम्मेदवार अघि सारेका छन् ।

कैलाली–१ मा नेमकिपाबाट सुनिता भण्डारा, आम जनता पार्टीबाट रुपाकुमारी चौधरी र रास्वपाबाट कोमल ज्ञवाली उम्मेदवार छन् । कैलाली–२ मा नेमकिपाकी लक्ष्मी पुनमगर र मितेरी नेपाल पार्टीकी सम्झना विष्ट थापा उम्मेदवार बनेकी छन् । कैलाली–३ मा नेमकिपाबाट जुनु महतरा शाही र मितेरी नेपाल पार्टीबाट सुशीला थापा मगर, कैलाली–४ मा नेमकिपाकी अमृता भुल तथा कैलाली–५ मा मितेरी नेपाल पार्टीकी राधिकाकुमारी कार्की, राष्ट्रिय जनमोर्चाकी शोभामणी जोशी र नेमकिपाबाट तुषण पुनमगर उम्मेदवार छन् ।

कञ्चनपुर–१ बाट नेकपाकी बिना मगर उम्मेदवार बनेकी छन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । त्यही क्षेत्रमा आम जनता पार्टीबाट सीता विक तथा स्वतन्त्रतर्फ रूपादेवी विष्ट र मञ्जुदेवी सुनार उम्मेदवार छन् । कञ्चनपुर–२ बाट नागरिक उन्मुक्ति पार्टीकी प्रेमवती राना र कञ्चनपुर–३ बाट आम आदमी पार्टीकी लक्ष्मीकुमारी विष्ट उम्मेदवार बनेकी छन् । डोटीमा मितेरी नेपाल पार्टीकी सरस्वती पाल मल्लले उम्मेदवारी दिएकी छन् ।

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये एमालेले सुरुमा कञ्चनपुर–१ मा केन्द्रीय सदस्य कमला बोहरालाई टिकट दिएको भए पनि अन्तिममा तारा लामा तामाङलाई उम्मेदवार बनाएको छ । उम्मेदवारमा न्यूनता देखिए पनि सुदूरपश्चिममा महिला मतदाताको संख्या पुरुषभन्दा बढी रहेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार महिला मतदाता ८ लाख ६४ हजार ४ सय २३, पुरुष ८ लाख ५२ हजार २ सय १९ र अन्य १८ जना रहेका छन् । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार महिला मतदाता बढी भए पनि उम्मेदवार छनोटमा दलहरूले समावेशितालाई प्राथमिकता नदिएको देखिएको छ ।

210
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.