काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि डेढ लाख निर्वाचन प्रहरी छनोट भई तालिम सुरु गरिएको छ। २१ फागुनमा हुने निर्वाचनको सुरक्षामा नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी बल (एपीएफ) अन्तर्गत १५ हजार ११० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी खटिनेछन्।
छनोट भएका निर्वाचन प्रहरीले आइतबार (आज) बाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्धित युनिटबाट १० दिनको आधारभूत सुरक्षा तालिम सुरु गरेका छन्। तालिममा आफूभन्दा माथिल्लो तहका प्रहरीप्रति सम्मानजनक व्यवहार, शारीरिक पोजिसन, फिल्डमा सर्वसाधारणसँग व्यवहार, व्यक्तिगत राजनीतिक धारणा नदिने, पक्ष/विपक्षमा कुनै गतिविधि नगर्ने आदि विषय समावेश छन्।
तालिम सकिएपछि निर्वाचन प्रहरीलाई फिल्डमा प्रहरी र सशस्त्र प्रहरीसँगै खटाइनेछ। आवश्यकतानुसार नियमित सुरक्षाकर्मीबाट टोली प्रमुख तोकिएको अवस्थामा निर्वाचन प्रहरी आफ्नो कमाण्डरसँग पूर्ण रूपमा जवाफदेही भएर काम गर्नेछन्।
निर्वाचन प्रहरीका लागि २५ पुसदेखि ३ माघसम्म दरखास्त आह्वान गरिएको थियो। देशभरबाट करिब २ लाख आवेदन प्राप्त भएका थिए, जसबाट छनोट भएकालाई नियुक्ति पत्र दिई तालिममा खटाइएको हो। भर्ना उमेर समूह १८–५४ वर्ष थियो।
निर्वाचन प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको जवान सरह तलब, पोसाक, रासन लगायत सुविधा दिइनेछ। ४० दिनको कार्यअवधिको तलब ३४ हजार रुपैयाँ, यातायात भत्ता ८४६ रुपैयाँ, खाजा खर्च ४ दिनको १२ सय रुपैयाँ र आवश्यक पोसाक खर्च समेत उपलब्ध गराइनेछ।
निर्वाचनमा खटिँदा घाइते भएमा क्षतिपूर्ति रकम दिइनेछ। तोकिएको स्थानमा नजानु, जिम्मेवारी पूरा नगरी भाग्नु वा निर्वाचन रद्द/स्थगित भएमा नियुक्ति स्वतः रद्द हुनेछ।