2026/03/15

घरधन्दासँगै निर्वाचन प्रहरीको जिम्मेवारीमा महिला

Admin

२०८२-११-१२

89
Shares

अछाम — मंगलसेन नगरपालिका–४ की ५२ वर्षीया राज्य भुल अहिले निर्वाचन प्रहरीको भूमिकामा छन् । सामान्य साक्षर उनले २०७९ को निर्वाचनमा पनि म्यादी प्रहरीका लागि आवेदन दिएकी थिइन् । त्यतिबेला उनी लिखित परीक्षामा उर्त्तीण भइनन् । यस पटक भने उनी छोरीसहित निर्वाचन प्रहरीमा भर्ना भएकी छन् ।

उनका ६ छोरी र २ छोरा छन् । तीमध्ये दुई छोरीको विवाह भइसकेको छ । बाँकी सन्तानको लालनपालनका लागि राज्य र उनका श्रीमान् पदम भुल मजदुरी गर्दै आएका छन् । कमजोर आर्थिक अवस्थाका कारण परिवारको खर्च धान्न असहज भएपछि निर्वाचन प्रहरीमा भर्नाका लागि प्रयास गरेको उनले बताइन् । 

‘गुन्यु चोलीबाहेक मैले त कुर्ता सुरुवालसम्म लगाएको थिएन । अहिले त प्रहरीकै जस्तो पोशाक लगाउँदा लाज र अप्ठेरो पनि लाग्छ, हिम्मत आए जस्तो पनि लाग्छ,’ राज्यले भनिन्,‘छनोट भएर पहिलो दिन तालिममा आउँदा गुन्यु चोली लागाएर आएकी थिए । कहिल्यै नसोचेको पोशाक लगाउँदा, प्रहरीको जस्तो तालिम गर्दा आफैलाई अचम्म लाग्छ । मेरा लागि नयाँ अनुभव पनि हो ।’ 

निर्वाचन प्रहरी बन्नु उनको रहर नभइ बाध्यता हो । कमजोर आर्थिक अवस्था र ६ छोराछोरी जन्मेपछि परिवार र समाजले गरेको विभेद र बहिष्कारले उनी मानसिक र सामाजिक रुपमा एक्लो भइन् । ‘छोराको आशमा ६ जना छोरी भए । एकपछि अर्को छोरी हुँदा परिवार, आफन्त र समाजको हेला सहनु पर्यो । घरमा बस्नै सक्ने अवस्था रहेन । परिवारबाट टाढा अस्थायी कटेरो बनाएर बस्यौं,’ उनले भनिन्,‘मैले श्रीमान्को माया र साथ पाएको छोरा जन्मेपछि हो । अहिले २ छोरा छन् । श्रीमान्को माया पनि पाएकी छु ।’

शारिरीक, मानसिक र आर्थिक समस्यासँग जुधिरहेकी राज्यले छोरीलाई पनि निर्वाचन प्रहरीमा आवेदन दिन लगाइन् । आमा छोरी एउटै पोशाकमा, एकै ठाउँमा तालिम गरिरहेका छन् । ‘पहिले म्यादी प्रहरीका लागि आवेदन दिन आउँदा श्रीमान्ले साथ दिनुभएको थिएन । महिलाले त्यस्तो काम गर्ने होइन भनेर रिसाउनु हुन्थ्यो । यो पटक सायद उहाँले बुझ्नु भयो । श्रीमानकै सल्लाहमा आएकी हुँ,’ उनले भनिन् ।

श्रीमती राज्य भुल र छोरी निर्वाचन प्रहरीको भूमिकामा खटिएपछि पदम भुलको दैनिकी पनि फेरिएको छ । घरभित्रका अधिकांश जिम्मेवारी अहिले उनले एक्लै सम्हालिरहेका छन् । 

श्रीमती र छोरीले नयाँ जिम्मेवारी सम्हालेको देख्दा आफूलाई गर्व लागेको पदम बताउँछन् । ‘पहिले महिलाले यस्तो काम गर्नु हुँदैन जस्तो लाग्थ्यो,’ उनले भने, ‘अहिले छोरी र श्रीमतीको मिहनेत र आत्मविश्वास देख्दा खुसी लाग्छ । तालिममा पनि रमाइलो नै छ । धेरैले बज्यै भन्छन्, माया गर्छन् ।’

दिनभरि तालिममा व्यस्त आमाछोरी साँझ फर्किएपछि थाकेका हुन्छन् । उनीहरूलाई सहज बनाइदिन आफूले सकेको सहयोग गरिरहेको पदम बताउँछन् । आमाछोरी दुवै निर्वाचन प्रहरी भएपछि घरभित्र र बाहिरको सबै काम अहिले आफै गरिरहेको पदमले बताए । ‘श्रीमती राज्य र छोरी सोबन घरबाट बिहान ८ बजे गएर साँझ ६ बजे आइपुग्छन् । उनीहरु आउँदासम्म खाना पकाएर राख्छु,’ पदम भन्छन्,‘दिनभर थाकेका आमाछोरी बिहान ढिलो उठ्छन् । बिहानको खाना आफै पकाउँछु । घर धान्न कति गाह्रो हुँदो रहेछ भन्ने अहिले थाहा भइरहेको छ।’

मंगलसेन नगरपालिका-५ की ४२ वर्षीया बिन्द्रा भाट दोस्रो पटक निर्वाचन प्रहरी भएकी छन् । उनको दैनिकी भने सहज छैन । उनका लागि निर्वाचन प्रहरीले काम गर्नुपर्ने ४० दिन अरुको तुलनामा असहज छन् । गाईवस्तुको जिम्मेवारी, पाँच सन्तानको हेरचाह र निर्वाचन प्रहरीको भूमिका एउटै समयमा सम्हाल्दै आएकी छन् । उनको गोठमा तीन भैंसी, दुई गाई र तीन गोरु छन्, जसको हेरचाह पनि उनी आफैंले गर्छिन् ।

बिन्द्राले आफ्नो दिनचर्या बताउँदै भनिन्, ‘बिहान ३ बजे उठ्छु । गोबर सोहोर्ने, खाना पकाउने काम सकेर ८ बजे ड्युटीमा जान्छु । साँझ ६ बजे फर्केर घरको काम सकाउन राति ११ बज्छ ।’ निर्वाचन प्रहरी भएपछि राति ३ घन्टा पनि सुत्न नपाएको उनले सुनाइन् ।

निर्वाचन प्रहरी हुँदा आएको पैसाले घरखर्च चलाउन सहज हुने उनी बताउँछिन् । ‘श्रीमान् बिरामी छन् । छोराछोरी सानै छन् । आम्दानीको बाटो केही छैन,’ उनले भनिन्,‘केही दिनका लागि भए पनि खर्च टर्ने आशमा भर्ना भएकी हुँ ।’

मंगलसेन नगरपालिका-५ की ४० वर्षीया सीता ढुंगाना पनि सामान्य साक्षर हुन् । निर्वाचन प्रहरीको भूमिकामा रहेकी सीताका लागि पनि नयाँ अनुभव हो । ‘४० दिनका लागि मात्रै भए पनि सरकारी काम गर्ने अवसर पाइयो । पैसा पनि आउने, नयाँ कुरा सिक्न पनि पाइने, मलाई त रमाइलो लागिरहेको छ,’ उनले भनिन्,‘पाइन्ट, टिसर्ट मैले कहिल्यै लगाएको थिइन । सुरुको दिन घरबाट पोशाक लगाएर आउन लाज लाग्यो । बाटोमा लगाए । अहिले त लाज, संकोच सबै हट्यो ।’

पहिले एक दिन माइत जाँदा पनि घरको कामकै चिन्ताले सताउने गरेकोमा अहिले भने ढुक्कले छोड्न सकेको उनी बताउँछिन् । ‘घरको सबै काम आफैले गर्नु पर्थ्यो । अहिले मैले भ्याएको छैन । परेपछि घरका अरुले पनि काम त गर्दा रहेछन्,’ उनले भनिन्,‘घर छोडेर बाहिर निस्किदा धेरै कुरा थाहा हुँदो रहेछ । छोरीले किन जागिर गर्नु पर्छ भन्ने महशुष गरिरहेकी छु ।’

 जिल्लाभर १ हजार ४ सय ६२ निर्वाचन प्रहरी छन् । ती मध्ये ८४० पुरुष र ६२२ महिला छन् । 

89
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.