१३ वैशाख, काठमाडौं । नेकपा (एमाले)मा महासचिव शंकर पोखरेलले सत्तारुढ नेपाली काँग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको दावी गर्नु भएको छ ।
महासचिव पोखरेलले काँग्रेससहितका सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको पनि बताउनु भयो । उहाँले स्थानीय तह निर्वाचनको चुनावमा सत्तारुढ दलहरुले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको उल्लेख गर्दै एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भईसकेको जिकीर गर्नु भयो । उहाँले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा नै निराशा प्रर्दशन गरेको बताउनु भयो ।
महासचिव पोखरेलले भन्नु भयो, ‘नेकपा एमालेसँग सत्तामा रहेका सत्तारुढ दलहरुले एक्लै चुनाव लडने आँट गरेनन् । नेपालको सबभन्दा पूरानो पार्टी भन्ने नेपाली काँग्रेस आज नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको छ । र, उसले चुनाव लड्नका लागि पनि अरुको सहारा खोज्नुपर्छ भन्ने कुरा स्पष्ट भएको छ । अव नेपालमा सबभन्दा ठूलो पार्टीको रुपमा, राष्ट्रिय शक्तिको रुपमा एमाले आएको छ भन्ने कुरा यो निर्वाचनले स्थापित गरेको छ भन्ने कुरा म राख्न चाहन्छु ।’
महासचिव पोखरेलले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढि विधि र प्रक्रिया उलंघन गर्ने नेताको रुपमा माधवकुमार नेपाल रहेको टिप्पणी समेत गर्नु भयो । उहाँले एमालेमा छँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले पार्टीको अध्यक्ष र संसदीय दल दुवै लिएर त्यसको धज्जी उडाएको पनि दोहो¥याउनु भयो ।