2026/07/29

संसदीय समितिका सबै १० सभापतिले लिए पद तथा गोपनीयताको शपथ

Admin
Admin

२०८०-०५-११

468
Shares
संसदीय समितिका सबै १० सभापतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ, ११ भदौ

प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख देवराज घिमिरेले सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा उहाँहरूलाई शपथ गराएका हुन् ।  
 

त्यस अवसरमा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, सांसदलगायत उपस्थित थिए ।

प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । सबै विषयगत समितिमा एकल उम्मेदवारी रहेकाले १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका थिए ।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित भएका छन् । 

त्यस्तै, कानुन, न्याय तथा मानवाधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका डा आरजु राणा देउवा र राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका छन् । 

     
त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी, सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले) का ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा एमालेकै किरणकुमार साह निर्वाचित भएका हुन् । 
   
प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएका हुन् ।

468
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja