।
१३ भदौ , अछाम
साँफेबगर नगरपालिका ११ देवीस्थानकी कल्पना (नाम परिवर्तन) २१ वर्षकी भइन् । गतसाता उनले जिल्ला अस्पताल मंगलसेनमा पहिलो सन्तान छोरा जन्माइन् । श्रीमान् , सासु ,ससुरा कामको लागि भारत गएपछि उनी सुत्केरी हुन माइतिघर मंगलसेन आइन् । पहिलो पटक आमा बनेकि कल्पनाले स्याहार , माया र बच्चाको रेखदेख गरिदिने कोही भेटाइनन् । सुत्केरी भएकी महिलालाई छोए अपवित्र भइने भन्दै उनकी आमाले समेत उनलाई छोइनन् । ‘सुत्केरीलाई छोए मलाई सञ्चो हुदैन । देउता पनि रिसाउँछन् । अब नौ दिन र्भपछि मात्रै छोरीलाई छुन मिल्छ । नातीको मुख पनि त्यही दिन हेर्छु ’ उनकी आमाले भनिन् ,‘ सुत्केरी महिला र छाउ (महिनावारी) भएकी महिला दुवैलाई छुन मिल्दैन ।’ जिल्ला अस्पतालमै पुगेका कल्पनाका आफन्तले उनलाई छुन मानेन् । ‘आमाले पनि मलाई सञ्चो हुदैन भन्नुभयो । झन् अरुले छुने कुरै भएन । अन्तिममा बजै नाता पर्नेले छुनुभयो ’ कल्पनाले भनिन् ,‘सुत्केरी व्यथा भन्दा धेरै त आफुलाई छुने मान्छे नभेट्दा पिडा भयो ।’
कमलबजार नगरपालिका –५ की मैना (नाम परिवर्तन) ले भइसकेपछि छुने मान्छे पाइनन् । जसोतसो कमलबजार प्रथामिक स्वास्थ्य केन्द्र पुर्याएर शुुक्रबार छोरी जन्म दिएकी उनले घरसम्म बच्चा बोकि दिने कोहि पाइनन् । ‘ सुत्केरी भएको नौ दिनसम्म त अछुतो नै ठान्छन् । सानो गोठमा आफैं पकाएर खानुपर्छ । यो बेला गह्रौं सामान उठाउन नमिल्ने भएपनि अरु कसैले सहयोग गर्दैनन् ’ मैनाले भनिन् ,‘ मेरा त पहिले नै दुइ वटा छोरी थिए । फेरी पनि छोरी नै जन्मिन् । मैले परिवार बाट के माया पाउँथे र? ’ उनकाअनुसार अझै पनि सुत्केरी महिलालाई गरिने विभद हटेको छैन । छोरा भए एकनासको र छोरी भए अर्को खालको व्यवहार गर्ने चलन अझै रहेको उनको भनाइ छ ।
यहाँका विपन्न र दलित समुदायका महिलालाई गर्भवती भएपछि भारी सामान उठाउनु हुँदैन, अस्पताल गएर समयसमयमा चिकित्सकलाई जाँच गराउनुपर्छ भन्ने ज्ञान भए पनि उनीहरूलाई परिवारबाटै सहयोग नहुने पीडित बताउँछन् । गर्भवती महिलाले गर्भवती भएपछि के गर्न हुने के नहुने धेरै कुरा थाहा पाउन थाले पनि यो कुरा व्यवहारमा भने लागू नभएको बयालाकी एक गर्भवती महिलाले बताइन् । ‘मलाई सबैकुरा थाहा छ, र पनि मैले घरैमा चारवटा बच्चा जन्माएँ,’ नाम उल्लेख नगर्ने सर्तमा एक महिलाले भनिन् ‘घरका सदस्यले अग्रसरता नलिएपछि आफ्नो मात्र जानकारीले खासै काम नलाग्ने रहेछ ।
सरकारले घोषणा गरेको सुरक्षित मातृत्व कार्यक्रम अछाममा प्रभावकारी नभएको उनको भनाइ छ । ‘गर्भवती भएका बेला, सुत्केरी हुँदा र सुत्केरी पश्चात् ६ हप्ताभित्र गरिने ‘विशेष सेवा’ नै सुरक्षित मातृत्व सेवा हो भनेर सिकियो बुझीयो पनि । अन्तमा आफैंलाई समस्या पर्यो ’ उनले भनिन् । उनका अनुसार यही सेवा नपाएका कारण आमा र बच्चाले ज्यान गुमाउने क्रम रोकिएको छैन । जिल्ला अस्पताल अछामका अनुसार घरमै सुत्केरी हुने महिलाको संख्या २५ प्रतिसत रहेको छ । जिल्लाभरका स्वास्थ्य संस्थाले सङ्कलन गरेको तथ्याङ्कले सुरक्षित सुत्केरी गराउनेमा बढी शहर बजारका महिला रहेको देखाएको छ ।
अधिकांश ग्रामीण भेगका महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य संस्थासम्म पुगेर बच्चा जन्माउने महिलाहरु पनि छुवाछुतकै कारण असुरक्षित रहेको जिल्ला अस्पतालकी कार्यालय सहयोगी देबु ढुंगाना बताउँछिन् । ‘सुत्केरी र गर्भवती महिलाकै हेरचाह र स्याहारको लागि हामीलाई खटाइएको छ । अस्पतालमै सुत्केरी महिलालाई नछुने धेरै आउछन् । कतिपय महिला त अप्ठ्यारोमा समेत परेका छन् ।’ उनले भनिन् ।