काठमाडौं, भदौ १३
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को सचिवालय बैठक सिरहाको अम्बासमा बसिरहेको छ।
एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भएको सिरहाको धनगढीमाई नगरपालिका-१४ स्थित सर्रे अम्वासमा बुधवार दिउँसो बसिरहेको हो।
बैठकमा पार्टीको मिसन ग्रास्रुट अभियानको समीक्षा र केन्द्रीय कमिटी बैठकको पनि मिति तय गर्ने नेताहरुले बताएका छन्।
मदन भण्डारी महासचिवमा निर्वाचित भएको ऐतिहासिक ठाउँको स्मरणमा एमालेले सो ठाउँमा पार्टी सचिवालय बैठक बोलाएको हो ।
बैठकमा भाग लिन अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरु आजै त्यहाँ पुगेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्षको अवसर पारेर एमालेले ऐतिहासिक राष्ट्रिय महत्व राख्ने शहीद स्तम्भको समेत शिलान्यास गर्नेछ । अध्यक्ष ओलीले सो स्तम्भको शिलान्यास गर्नुहुने एमालेले जनाएको छ।
उक्त ठाउँलाई पर्यटकीय दृष्टिकोणले समेत अघि बढाउने उद्देश्यसहितका मदन भण्डारी स्मृति विद्यालय, मदन भण्डारी पार्क निर्माण गर्ने पार्टीको योजना रहेको पनि बताइएको छ।
२०४६ साल भदौ ९ गतेदेखि १४ गतेसम्म तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन विष्णुपुरकट्टीमै भएको थियो।
एमालेले ३४ वर्षपछि महाधिवेशन गरिएको घरमा नै बैठक बसेको हो।
मालेको चौथो महाधिवेनबाट झलनाथ खनाललाई हटाएर मदन भण्डारी महासचिव चुनिएका थिए । संयुक्त जनआन्दोलनको वैचारिक विजारोपण चौथो महाधिवेशनबाटै भएको थियो ।