2026/05/01

बालनले डिलिट गरे सिंहदरबारमा आगो लगाउने धम्कीयुक्त फेसबुक पोस्ट

Admin

२०८०-०५-१८

485
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले संघीय सरकारको प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाउने भनेर दिएको धम्कीसहितको फेसबुक पोस्ट हटाएका छन् ।

पत्नी सविना काफ्ले सवार सरकारी गाडीलाई शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरेको रिसमा ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने अभिव्यक्ति दिएका बालेन अब शान्त भएका हुन् ।  

सामाजिक सञ्जालमा उत्तेजक स्टाटस लेखेर चर्चामा आइरहने उक्त स्टाटस उनले सोमबार बिहान हटाएका हुन् ।  

बालेन्द्रले शनिबार राति लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार । ’ 

महानगरी ट्राफिक प्रहरी महाशाखाले आइतबार बालेन पत्नी सवार गाडीलाई एक मिनेट पनि नरोकेको स्पष्टीकरण दिएको थियो । बालेन पत्नीमाथि कुनै किसिमको हप्कीदप्की र दुर्व्यहार नभएको महाशाखाको स्पष्टीकरण आएपछि उक्त विवादित फेसबुक पोस्ट हटेको हो ।  

बालेनले आफ्नी पत्नी सवार गाडीलाई ७ मिनेटसम्म रोकेको भन्दै अराजक शैलीमा सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए ।  

ट्राफिक प्रहरीका अनुसार शनिबार राति बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र गतिमा आइरहेको थियो । नियमित चेकजाँचका क्रममा कोटेश्वर ट्राफिक प्रहरी वृत्तको टोलीले उक्त गाडीलाई रोकेर सोधपुछ गरेको थियो । जसमा मेयर शाहकी पत्नी थिइन् ।  

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार नियमित चेकजाँचका क्रममा शनिबार राति साढे ८ बजेतिर कोटेश्वरमा ट्राफिक प्रहरीले महानगरपालिकाको गाडीलाई रोकेर सोधपुछ गरेको थियो ।  

चेकजाँचका क्रममा सरकारी नम्बर प्लेटको गाडी देखिएपछि अनुमति (पास) लिइएको छ कि छैन भनेर सोध्दा छैन भन्ने जवाफ आएपछि ट्राफिक प्रहरीले गाडी छाडेको थियो ।  

बालेनले पत्नी सवार गाडी रोकेको भन्दै ट्राफिक महाशाखा प्रमुख, काठमाडौंका प्रमुख जिल्ला अधिकारी र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत फोन गरेका थिए । उनीहरुले ट्राफिक प्रहरीले आफ्नो नियमित जिम्मेवारी पूरा गरेको बताएपछि अराजक स्टाटस लेखेका थिए । जुन अब फेसबुकबाट हटाइएको छ ।  
 

485
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.