अछाम — सान्तडाकी ४५ वर्षीया इन्द्रसरा साउद (नाम परिवर्तन) का दुई छोरा छन् । उनका श्रीमान्को एचआईभी संक्रमणका कारण १५ वर्षअघि मृत्यु भयो । श्रीमान्लाई २०५९ सालमा एचआईभी देखिएको थियो । त्यसपछि उनले थुप्रै भेदभाव र लाञ्छना सहनुपर्यो । उनले मात्रै होइन २ छोराले पनि विभेद खेपे ।
‘एचआईभी संक्रमितका छोरा भनेर विद्यालयले पढ्नै दिएन,’ इन्द्रसराले भनिन्, ‘पहिले एचआईभीबारे बुझाउन गाउँ–गाउँमा जान्थे । हामीलाई पनि सहज हुन्थ्यो । अहिले कोही वास्ता गर्दैनन्, रोगबारे खुलेरै आउँदा अहिले अप्ठ्यारो भएको छ ।’
कमलबजार नगरपालिका–४ चाल्सकी रत्ना (नाम परिवर्तन) एचआईभी संक्रमित हुन् । ९ वर्षअघि श्रीमान्को संक्रमणबाट मृत्यु भएपछि उनलाई पनि संक्रमण भएको थाहा भयो । हाल ७ वर्षकी छोरी पनि जन्मँदै संक्रमित भइन् । उनका श्रीमान् भारतमा लामो समय काम गरेर रोगले थिलथिलो भएर घर फर्किएका थिए । एचआईभी संक्रमित हुनुमा रत्नाको कुनै दोष थिएन । न त उनकी छोरीको । श्रीमान्को मृत्युपछि उनले अरूले जस्तै सहज जीवनयापन गर्न सकेकी छैनन् । केही सीपमूलक तालिम सिकेर व्यवसाय गर्न सक्छु भन्ने उनलाई लाग्छ । तर अहिलेसम्म कसैले सहयोग नगरेको उनले बताइन् ।
‘एकातिर आफैं एचआईभी संक्रमित छु, त्यसमाथि श्रीमान् पनि छैनन् । बाँच्नै मुस्किल छ,’ उनले भनिन्, ‘छोरीका लागि पनि अरू कसैको सहारा छैन । वडा अध्यक्ष, सदस्यलाई त मेरो अवस्थाका बारेमा थाहा थियो नै, तर कसैले बोलिदिँदैनन् । नगरपालिकासम्म गएर समस्या कसरी राख्नु ?’ सदरमुकाम मंगलसेनमै भएका एचआईभी संक्रमितका गुनासो पनि उस्तै छ । गाविस हुँदा पाउने सेवा सुविधा र गाउँमा प्रतिनिधित्व गर्नेबारेमा पहिले उनीहरूलाई सम्मान नै गरिन्थ्यो । तर स्थानीय तह गठन भएपछि खोजी नै भएको छैन । ‘पहिले केही संस्थाहरूले हामी पनि स्वस्थ मान्छेसरह नै बाँच्न सक्ने कुरा बताउँदा खुसी लाग्थ्यो । त्यतिखेर भेदभाव पनि कम थियो । अहिले त्यस्ता कार्यक्रम पनि सकिए । भेदभाव फेरि सुरु भयो,’ रत्नाले भनिन् ।
जिल्लाका धेरैजसो स्थानीय तहले एचआईभी संक्रमितका लागि छुट्टै बजेट र कार्यक्रम नराखेको संक्रमितहरू बताउँछन् । एचआईभी संक्रमित र प्रभावितका लागि कुनै छुट्टै कार्यक्रम नरहेको कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्क विष्टले बताए । ‘गत आर्थिक वर्षमा एचआईभी संक्रमित पहिचानका लागि केही सामान खरिद गरेका थियौं । अहिले पनि संक्रमितको अवस्था हेर्नका लागि एक स्वास्थ्यकर्मी राखेका छौं,’ उनले भने ।