2026/07/30

अब कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ : शेखर कोइराला

Admin
Admin

२०८०-०५-२३

530
Shares
अब कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले अब कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्नुपर्ने बताएका छन् ।

अहिले माओवादी केन्द्र नेतृत्वको सरकारमा ९ जना मन्त्री भए पनि त्यसको कुनै अर्थ नरहेको भन्दै उनले कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा शनिबार उनले भने, ‘हामीसँग ९० सिट छ, ९ जना मन्त्री छन्, कसैलाई लागेको होला मन्त्रीले काम गरेका छन्, कसैलाई लागेको होला केही काम गरेका छैनन्, तर मलाई के लाग्छ भने संसदीय प्रणालीमा प्रधानमन्त्री बाहेक अरु मन्त्रीको कुनै रोल हुँदैन ।’

उनले अगाडि भने, ‘मन्त्रिपरिषदमा प्रधानमन्त्री र मुख्यसचिव बसेर गर्ने निर्णय नै अन्तिम हुन्छ । यसकारण अब कांग्रेसको सरकार हुन जरुरी छ अनि मात्रै अगाडि बढ्न सकिन्छ ।’

उनले देशमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक धार्मिक, कुटनीतिक चारैतिर अराजकता फैलिरहेकोले यसलाई समयमा नै नियन्त्रण गर्न कांग्रेसको नेतृत्वको सरकार आवश्यक भएको दावी गरे । नेता कोइरालाले अहिलेको निर्वाचन प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्रै सरकार बन्न नसक्ने भएकाले प्रत्यक्ष निर्वाचन प्रणाली मात्रै राख्नुपर्ने धारणा राखे ।

‘अहिले भएको १६५ निर्वाचन क्षेत्रलाई बढाएर पहिला संविधानसभाको जति २४० प्रत्यक्ष बनाउन सकिन्छ, यसो हुँदा ७५ जति सिट बढ्छ, त्यहीँभित्र नै महिला र दलितको आरक्षण राख्न सकिन्छ’, नेता कोइरालाले भने, ‘आदिवासी जनजाति, थारु, अल्पसंख्यक लगायतको प्रतिनिधित्व राष्ट्रियसभा र प्रतिनिधी सभामा पनि गराउन सकिन्छ ।’

उनले यसका लागि कांग्रेस र एमाले तयार हुने तर माओवादी र अन्य केही दल तत्काल तयार नहुने भएकाले छलफल गरेर एउटा निष्कर्षमा पुग्न सकिने बताए ।

स्थानीय तहको निर्वाचन र आम निर्वाचनमा माओवादीसँग गठबन्धन गर्नु कांग्रेसको भुल भएको कोइरालाले बताए । ‘माओवादीसँग गठवन्धन गर्दा कांग्रेस कमजोर भएको निष्कर्ष देशभरका नेता कार्यकर्ताको छ, यसमा असहमत हुने कुरा छैन’, उनले भने, ‘पार्टीले अव यस्तो गल्ती गर्न हुँदैन । एक्लै चुनाव लड्छु भनेर लागौं हामी जित्छौं पनि ।’

पछिल्लो समयमा लोकरिझ्याइँको राजनीति हावी हुन थालेको नेता कोइरालाको विष्लेषण छ ।

530
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja