2026/07/29

रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता

Admin
Admin

२०८०-०५-२७

611
Shares
रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता

उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ। यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर  टाढा छ। 

नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण गर्ने भवनमा आइपुग्दा राष्ट्रपति पुटिनले स्वागत गरेका थिए। दुवै नेताले मुस्कुराउँदै हात मिलाए र केही शब्दहरू आदान–प्रदान गरेका थिए। क्रेमलिनको आधिकारिक टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा दुई नेताले हात मिलाउँदै गरेको देखिन्छ। 

नेता किमले राष्ट्रपति पुटिनलाई उनको व्यस्त कार्यतालिकाका बाबजुद पनि भ्रमणका निम्ति निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गरे। यसबाट उत्तर कोरिया र रुसबीचको रणनीतिक सम्बन्ध र दुवै देशका समान प्राथमिकता प्रतिबिम्बित भएका उनले उल्लेख गरे।  

यसअघि रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किमबीच सन् २०१९ मा भेटवार्ता भएको थियो। आजको द्विपक्षीय वार्तामा हतियार र सैन्य प्रविधि सम्झौता हुने अपेक्षा गरिएको छ। 

अन्तर्राष्ट्रिय जगतले एक्ल्याएका नेताद्वयले हतियार सम्झौता गर्न सक्ने प्रबल सम्भावना रहेको सुरक्षा विश्लेषकहरूले बताएका छन्। उनीहरूका अनुसार आफ्नो अभेद्य रेल चढेर रुस भ्रमणमा आएका नेता किमले उत्तर कोरियाका वरिष्ठ सैनिक अधिकारीलाई साथमा ल्याउनुको अर्थ हतियार वार्ता हो भन्ने स्पष्ट हुन्छ। 

राष्ट्रपति पुटिनले पनि हतियारलगायत सबै विषयमा छलफल हुने पत्रकारहरूलाई बताएका छन्। हतियार आपूर्ति वा सैन्य–प्राविधिक सहयोगबारे  छलफल हुन्छ कि भन्ने पत्रकारहरूको जिज्ञासामा उनले त्यस्तो जवाफ दिएका हुन्। नेता किमले उत्तर कोरियाको अन्तरिक्ष कार्यक्रम विकास गर्न चाहेको बताउँदै त्यसनिम्ति भूउपग्रह सहयोग गर्ने उल्लेख गरे। 

रुसी रक्षामन्त्री सर्गेई साेइगु गत जुलाईमा प्योङयाङको भ्रमणमा थिए। त्यसवेला र हालै द्विपक्षीय संयुक्त नौसैनिक अभ्यासको प्रस्ताव गरिएको छ। दुई नेताबीचको वार्तामा यी विषयका साथै खाद्यान्न सहायतालगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। 

नेता किमका साथ कोरियाली पिपुल्स आर्मी मार्सल पाक जोङ चोन र युद्धक पदार्थ उद्योग विभागका निर्देशक जो चुन र्‍याेङलगायत उच्च सैन्य अधिकारीहरू रहेकाले आपसी सैन्य सहयोग आदानप्रदानमा वार्ता केन्द्रित हुने प्रायः निश्चित रहेको विश्लेषकहरू बताउँछन्। 

युक्रेनविरुद्धको युद्धमा  रुसलाई गोला बारुदलगायत हतियारको धेरै आवश्यकता परेको छ। विश्वका सबैभन्दा धेरै सैन्य सामर्थ्य भएका देशमध्येको एक उत्तर कोरियाले रुसलाई आफूसँग भएका तोप, गोली र रकेट प्रस्ताव गर्ने सम्भावना छ। 

प्योङयाङले पुराना क्षेप्यास्त्र पनि प्रदान गर्न सक्ने विश्लेषकहरू बताउँछन्। उत्तर कोरियाको हतियार भण्डारमा रुसलाई चाहिने यथेष्ट उपकरण छन् किनभने उत्तर कोरियाले सन् १९५३ मा कोरियाली युद्ध समाप्त भएयता कुनै युद्ध लडेको छैन। 

यसैबीच, उत्तर कोरियाली नेता रुसमा रहेका वेला दक्षिण कोरिया र जापानले उत्तर कोरियाको पूर्वी तटबाट प्योङयाङले छोटो दूरीका दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको घोषणा गरेका छन्।

611
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja