2026/09/14

सुवास नेम्वाङको स्मृतिमा एमालेले सातै प्रदेशमा विचार गोष्ठी गर्ने

Admin
Admin

२०८०-०५-२९

643
Shares
सुवास नेम्वाङको स्मृतिमा एमालेले सातै प्रदेशमा विचार गोष्ठी गर्ने

काठमाडौं । नेकपा एमालेले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठीको आयोजना गरेको छ । 

महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको पार्टी कार्यालय बैठकले सातै प्रदेशमा विचार गोष्ठी गर्ने  निर्णय गरेको हो । 

‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि र वक्ताका रूपमा आमन्त्रण गरिने एमालेले जनाएको छ । 

जसअनुसार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा हुने विचार गोष्ठीलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् भने अन्य छ प्रदेशमा हुने गोष्ठीमा पार्टीका उपाध्यक्षहरू जानेछन् । 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेशको जनकपुरमा हुने विचार गोष्ठीमा प्रमुख वक्ताका रूपमा जानेछन् भने कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाने एमालेले जनाएको छ । 

सबै प्रदेशमा हुने विचार गोष्ठीमा विभिन्न राजनीतिक दललाई समेत आमन्त्रण गर्ने निर्णय भएको कार्यालय सचिव डा।भीष्मनाथ अधिकारीले जानकारी दिए ।

643
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja