2026/07/30

असोज १० गतेदेखि काठमाडौंमा फर्निचर एक्स्पो हुँदै

Admin
Admin

२०८०-०६-०४

508
Shares
असोज १० गतेदेखि काठमाडौंमा फर्निचर एक्स्पो हुँदै

राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को हुने भएको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोको तयारी तीव्र पारिएको जानकारी दिएको हो।

‘के हामी आत्मनिर्भर छौँ?’ भन्ने मुख्य थिमसहित आयोजना हुने एक्स्पोको असोज १० गते दिउँसो १ बजे उद्योग वाणिज्य तथा अपुर्तीमन्त्री रमेश रिजालले उद्घाटन गर्नेछन् । 

नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले असोज १० देखि १४ गतेसम्म तदनुसार सेप्टेम्बर २७ देखि अक्टूबर १ सम्म ५ दिन एक्स्पो आयोजना हुने जानकारी दिएको हो । 

यसअघि नै आयोजकले फर्नेक्सको इभेण्ट लञ्च गरी बोलकबोलमा अधिकांश स्टल बुकिङ गराएको थियो । 
पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा स्टल बुकिङ खुल्ला गरिएकोमा एकाध बाहेकका सबै स्टल बुकिङ भइसकेको एशोसिएशनले जनाएको छ । 

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्धेश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए । 

‘आर्थिक गतिविधिहरु सुस्त भइरहेका बेला एक्स्पोले बजारमा आर्थिक कृयाकलाप चलायमान बनाउन सघाउने विश्वास लिएका छौं,’ अध्यक्ष अग्रवालले भने । उनका अनुसार एक्स्पोमा प्रवेश निशुल्क गरिएको छ । 

मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन संघले पहलकदमी लिँदै आएको एक्स्पोका संयोजक निकुञ्ज अग्रवालले बताए । 

‘अर्थतन्त्र कमजोर अवस्थामा रहेका बेला स्वदेशी मुद्रा बाहिरिनबाट रोक्नुपर्नेमा सरकारले वन नियमावलीमा निजी क्षेत्रलाई निषेध गर्दा आयातित वस्तुको मात्र बढ्ने हो कि भन्ने चिन्ता एशोसिएशनलाई लागेको छ,’ अग्रवालले भने, ‘एक्स्पो आयोजना हुँदैगर्दा सरकारलाई निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्न एशोसिएशन आग्रह गर्दछं ।’

१०० भन्दा बढी स्टल रहने एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । 

एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने एशोसिएशनका महासचिव सञ्जय लामाले बताए । 

ग्राहकलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न सामाग्रीहरु उपलब्ध गराउन यो एक्स्पो महत्वपुर्ण हुने विश्वास लिएका छौं,’ महासचिव लामाले भने, ‘साथै फर्निचर र फर्निसिङ सामग्री उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरुलाई साझा प्लेटफर्म प्रदान गर्ने भएकाले उद्योगी तथा व्यवसायीका लागि एक्स्पो साझा प्लेटफर्म बन्ने विश्वास छ ।’ 

फर्निचर तथा फर्निसिङ क्षेत्रमा आबद्ध उद्योगी, व्यवसायीहरुलाई समेटेर बृहत र भव्य रुपमा आयोजना हुन लागेको एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ । त्यसैगरी एक्स्पोको इन एशोसिएशन विथमा प्रेष्टिज कार्पेट रहेको छ भने पावर्ड वाईमा फर्निचर हब प्रालि रहेको छ । 

नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्नचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रीज, सरावगी ओभरसीज र यती पोलिकेम रहेका छन् । इभेण्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङसे, भिवोन चियर र वेबट्युन रहेका छन् ।

५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डहरुको सहभागिता रहनेछ । 

अवलोकनकर्तालाई आकर्षक गिफ्ट भौचर उपलब्ध गराउनुका साथै घर तथा कार्यालय सजावटका लागि विज्ञबाट सुझाव पनि उपलब्ध हुनेछ भने एक्स्पोस्थलमा नै वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुनेछ । 

एक्स्पोमा सहभागी हुने व्यवसायीहरुले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन् भने सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसँग भेटवार्ता गर्ने अवसर पाउने छन् । 

फर्निचर तथा फर्निसिङ क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि सन् २०१२ देखि आयोजना हुन थालेको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल) लोकप्रिय ब्राण्डको रुपमा स्थापित भइसकेको छ ।

508
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja