2026/08/25

सडकले सुगम बन्दै विकट गाउँ

Admin
Admin

२०८०-०६-०४

493
Shares
सडकले सुगम बन्दै विकट गाउँ

सडकसँग जोडिएपछि जिल्लाको ढकारी, तुर्माखाँद, रामारोशन, पञ्चदेवल विनायक, मेल्लेख चौरपाटीका धेरै भेगका बासिन्दाको दैनिकीसमेत बदलिएको छ । गाउँमा सडक पुगेपछि ग्रामीण भेगको स्वास्थ्य, शिक्षा र विकासका अन्य पूर्वाधारको सुविधा पनि दुर्गमका नागरिकले उपभोग गर्न पाएका छन् ।

जिल्ला सदरमुकाम मंगलसेनबाट करिब ७५ किलोमिटर पूर्वमा रहेको अछामको पञ्चदेवल विनायक नगरपालिका–८ बारलाका स्थानीयले पनि सडक सञ्जालसँग जोडिएपछि सुगमको आभास गर्न पाएका छन् । ५/७ वर्षको अवधिमा गाउँमा भएको परिवर्तन देखेका यहाँका वृद्धवृद्धा अचम्मित छन् । यातायातको सुविधा गाउँसम्मै पुगेपछि शिक्षा, स्वास्थ्य, रोजगारी र यहाँको समग्र जीवनशैली नै बदलिएको छ ।

नेपालसँग सिमाना जोडिएको भारत उत्तरप्रदेशको तिकुनियाबाट दस दिनको बाटो हिँडेर नुन ल्याई गुजारा चलाएका यहाँका स्थानीय अहिले घरआँगनबाटै नुन किन्छन् । ‘दस दिनको बाटो हिँड्नुपर्ने, घामपानी, भोक निद्रा केही नभनी तिकुनिया पुगेको सम्झँदा अझै पनि थकित महसुस हुन्छ,’ बारलाका ८२ वर्षीय बजिर शाहीले भने, ‘हाम्रो गाउँमा गाडी आउँछ भन्ने कुरा त कथा सुनाएजस्तो लाग्थ्यो । यस्तो पहाडमा गाडी आउँछ होला भन्ने लागेकै थिएन ।’ लुगा कपडा आफैं बुन्ने, एउटै घरमा ७/८ भैंसी पाल्ने यहाँका स्थानीयको दैनिकी थियो । समय बदलिएसँगै पेसा पनि परिवर्तन भयो ।

‘१५ किलोसम्म घिउ बोकेर कैलाली चिसापानी, बौनियाको बजारमा बेच्थ्यौं । त्यही पैसाको नुन किनेर ल्याउँथ्यौं,’ अर्का स्थानीय मानबहादुर शाहीले भने, ‘अहिले त एक भैंसी पाल्नेहरू मुस्किलले भेटिन्छन् ।’ राजापुरमा नुन ल्याउन जाँदा बाटोमा वर्षा भई अलपत्र परेको सुनाउँदै मानबहादुर अहिलेको पुस्तालाई भाग्यमानी ठान्छन् । ‘गाउँका सात जना बर्दियाको राजापुर गएका थियौं । वारिपारि खोलाको पानी बीचमा हामी थियौं । आफू बाँच्नलाई नुन फ्याँक्यौं । जोखिम मोलेर हामी बाचेका हौं,’ उनले भने, ‘नुन सकिने दिन जतिनजिक आउँथ्यो त्यति नै डरले मुटु काप्थ्यो ।’ उनका अनुसार घरबाट निस्केपछि कहाँ पुग्यो, अवस्था के छ भन्ने जानकारी परिवारमा हुँदैन्थ्यो ।

‘घरबाट निस्केको दिन बाटोमा केही नभए फेरि भेट होला, चिन्ता नगर्नु, भगवान्ले साथ दिए नुन ल्याएर घरमै फकिर्ने छु भन्दै बाँच्ने झिनो आशा बोकेर सहरमा सामान किन्न जान्थ्यौं,’ उनले भने, ‘दस दिनसम्म हामी बाटोमै हुन्थ्यौं । घरका मान्छे चिन्तामा हुन्थे ।’ अहिले उनको उमेरका जति सबै खुसी छन् । उनीहरू जति खुसी बारालामा गाउँमा अरू सायदै होलान् । चिसापानी, राजापुर, कटासे, तिकुनियासम्म सामान किन्न जाने पुरुष नै हौ । अहिले त सुखका दिन आए । काठमाडौंको सामान एकै दिनमा गाउँ पुग्छ ।’ यी सबैको एउटै कारण सडकको विकास भएको स्थानीयको बुझाइ छ ।

यो गाउँमा सडक पुगेको ३ वर्ष मात्रै भयो । तर यहाँका स्थानीयले सडक पुगेपछि दशक पहिले पाएका दुःख बिर्सेका छन् । जीवनशैली बदलिएको छ । पुरुषको तुलनामा महिलाका सुखका दिन फर्किएका छन् । ‘पहिले सडक आयो, त्यसपछि स्वास्थ्य चौकी स्थापना भयो, विस्तारै गाउँमै मेडिकल खुल्न थाले,’ ४० वर्षीय स्थानीय कल्चु विकले भनिन्, ‘पाँच हातको धोती लगाउन पाए के/के न पायौं जस्तो लाग्थ्यो । अहिले त सहरबजारका लुगा आफ्नै आँगनमा पुगे ।’

बलाता र बारला जस्तै अछामका दर्जन बढी दुर्गम गाउँलाई सडकको पहुँचमा पुर्‍याउन मध्यपहाडी लोकमार्गले सहज बनाएको छ । जसको कारणले अछामका ९१ वडामध्ये सबै वडामा सडक पुगेको छ । बारलामा पुगेको सडक पनि मध्यपहाडी लोकमार्गको विनायक खण्डबाट गएको पञ्चदेवल विनायक नगरपालिका–८ बारलाका निर्वतमान वडा अध्यक्ष तारा खनाल बताउँछन् ।

अहिले सो क्षेत्रमा जग्गा कारोबार बढेको छ । गाउँमा उत्पादित कृषिजन्य वस्तुले समेत बजार पाउन थालेका छन् । सवारी साधन सहित मानिसहरूको चहल पहल बढेपछि जग्गा किनबेचको कारोबार पनि बढेको स्थानीय तुलसी शाहीले बताए । ‘पहिले अधिकांश खेतीयोग्य जमिन बाँझो रहने यो ठाउॅमा सडक पुगेसँगै बस्ती विस्तार हुन थालेको छ,’ उनले भने, ‘भने बाँझो खेतबारीमा सागसब्जी उत्पादन गरी आसपासका बजारमासमेत बिक्री हुने गरेको छ ।’

पूर्वमा चिवा भन्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म प्रस्तावित करिब एक हजार सात सय किलोमिटर लामो लोकमार्गले अछामका डेढ दर्जनभन्दा बढी गाउँलाई छोएको छ । सडकले छोएका छेउछाउका बस्तीको फेरिँदो मुहार र व्यावसायिक बन्ने तर्खरमा रहेका किसानले सडकले ल्याउँदै गरेको परिवर्तनको छनक दिन्छन् ।

493
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja