2026/08/24

प्रधानमन्त्री प्रचण्ड चीनमा : यस्तो छ एक हप्ताको कार्यक्रम

Admin
Admin

२०८०-०६-०६

505
Shares
प्रधानमन्त्री प्रचण्ड चीनमा : यस्तो छ एक हप्ताको कार्यक्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज यहाँ आइपुगेका छन्। 

चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे। सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि उपस्थित थिए। 

प्रधानमन्त्री प्रचण्ड अमेरिकामा संयुक्त राष्ट्रसंघको  ७८औँ महासभालाई सम्बोधन गरेर आजै यहाँ (चीन) आइपुगेका हुन्। प्रधानमन्त्री प्रचण्डले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका हुन्। 

प्रधानमन्त्री प्रचण्ड चीनमा आयोजित १९औं एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी भएका छन्। त्यसैगरी हाङ्जाओमै प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सि चीनफिङसँग भेटवार्ता गर्नेछन्। उनीहरूबीच उच्चस्तरीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। 

प्रधानमन्त्री प्रचण्ड उक्त कार्यक्रमपछि चीनको राजधानी सहर बेइजिङ आउनेछन्।

बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। उक्त भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन्। 

सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन्। महानगरपालिकाले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेकाले सो विषयमा अध्ययन अवलोकन गर्ने कार्यक्रम छ। 

यस भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ। 
यसैगरी उनले चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन्। सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ। सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नाका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिने छ।

सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरू पनि यहाँ आइपुगेका छन्।   

त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन्। तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ। 

505
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja