2026/07/29

राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक, अब नेपाललाई विकास सहयोग बढ्छ : प्रधानमन्त्री

Admin
Admin

२०८०-०६-०७

466
Shares
राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक, अब नेपाललाई विकास सहयोग बढ्छ : प्रधानमन्त्री


बेइजिङ, ७ असोज 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार (हिजो) भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् ।

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले आज साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त वार्ता निकै सौहार्द्रपूर्ण रहेको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास आफूले लिएको बताए ।

प्रधानमन्त्री दाहालले भने, 'यस पटकको चीन भ्रमणको यो फरक र विशिष्ट उपलब्धि भएको भएको छ र राष्ट्रलाई चीनसँगको कुराकानीबाट विश्वासको थप वातावरण सिर्जना भएको महसुस मैले गरेको छु ।'

नेपाल/चीन बीचको सदियौँ पुरानो सम्बन्धलाई यो भ्रमणले नयाँ आयाम थपेको भन्दै उनले सीसँगको वार्ताका क्रममा नेपालको विकासका लागि सहयोगका साथै नयाँ क्षेत्रहरूमा लगानीका विषयमा समेत कुराकानी भएको बताए । 

समारोहमा प्रधानमन्त्री दाहालले नेपालको विकासका लागि सरकारको एकल प्रयासमात्र सम्भव नहुने भन्दै वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यबाट अघि बढ्ने नीति लिएको बताए । 

यस पटक आफूले संयुक्त राष्ट्रसङ्घीय महासभामा नयाँ तथा फरक मुद्दा उठाएको प्रधानमन्त्री दाहालले बताए । उनले नेपालको शान्ति प्रक्रिया नयाँ र फरक प्रकृतिको रहेको र यससम्बन्धी सङ्क्रमणकालीन न्यायका कतिपय काम टुङ्ग्याउनुपर्ने कुरा आफूले अन्तरराष्ट्रिय समुदायलाई भनेको बताए । 

त्यसैगरी जलवायु परिवर्तनले नेपाललाई पुर्‍याएको असरका साथै अति कम विकसित राष्ट्रहरूका मुद्दा पनि आफूले एलडिसीको अध्यक्ष देशका हैसियतमा उठाएको उनले बताए ।

प्रधानमन्त्री दाहालले यसपटकको भ्रमण नेपाल–चीनसम्बन्धका विविध आयामहरूलाई थप प्रगाढ बनाउने कार्यमा केन्द्रित रहेको भन्दै आगामी दिनमा सहयोग र समझदारीका क्षेत्रहरू बढ्ने तथा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा आदि विषयमा सहयोग आदानप्रदान थप सुदृढ हुने विश्वास व्यक्त गरे।

यो पटक आर्थिक विकास र समृद्धितर्फ देशलाई अगाडि लैजाने बाचासहित आफू प्रधानमन्त्री भएको प्रसङ्ग उल्लेख गर्दै सोहीबमोजिम वर्तमान सरकारले काम अगाडि बढाएको र परिणाम पनि देखा परिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
 
यसअघि प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीको संस्था सिसिपिआइटीद्वारा नेपाल–चीन विजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले  लगानी गरी लाभ लिन चिनियाँ उद्योगीलाई आग्रह गरेका थिए। 

त्यस अवसरमा उनले भने, 'कुनै पनि देशको विकास सरकार आफैँले मात्र गर्न सक्दैन, देशको आर्थिक समृद्धिको ‘इन्जिन’ निजी क्षेत्र भएकाले सहयोग र सहकार्यका साथ अगाडि बढ्न चाहेको कुरा मैले  बारम्बार गरेको छु, आज पनि यहाँ दोहोर्‍याउन चाहन्छु ।' 

466
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja