नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै समय पार्टीमा आवद्ध भएको व्यक्तिले अपराध गरे त्यसको भारी पार्टीले नबोक्ने बताएका छन् ।
सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा उनले संविधान दिवसका दिन आममाफी पाएका बाँकेका गुन्डा नाइके योगेश ढकाल 'रिगल'तर्फ लक्षित गर्दै आममाफीको निर्णय सरकारले गरेकाले त्यसको भारी कांग्रेसले बोक्न नसक्ने बताएका हुन् ।
‘अघि आममाफीको कुरा उठ्यो । राष्ट्रपतिको त औपचारिकतामात्रै हो । सरकारले एउटा निर्णय गर्छ, त्यो निर्णयको सिंगो भारी कांग्रेसले बोक्नुपर्छ', उनले भने, 'हामीलाई त केही पनि थाहा छैन, किन दिएको पनि थाहा छैन, किन गरेको पनि थाहा छैन । एउटा साथी कुनै बेला कांग्रेसमा छ, उसले व्यक्तिगत अपराध गर्छ, गलत गर्छ भने त्यसको भारी उसैले बोक्नुपर्छ।’
उनले महेन्द्र यादवमाथि भएको आक्रमणको भारी सिंगो पार्टीले बोक्न पर्ने र पार्टी तयार रहेको बताए । यादवको गल्ती कमजोरी नभई उक्त आक्रमण भएको उनको दाबी छ ।
रिगल व्यक्ति हत्यामा दोषी ठहरपछि अदालतबाट सर्वस्वसहित जन्मकैद पाएका व्यक्ति हुन् । २०७२ साल असार २८ गते २९ वर्षीय चेतन मानन्धरमाथि उनले खुँडा प्रहार गरेर हत्या गरेका थिए ।
त्यसपछि फरार भएका रिगलले दुई महिनापछि प्रहरीमा आत्मसमपर्ण गरेका थिए । उनलाई २०७६ बैशाखमा अदालतले सर्वाश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । संविधान दिवसका दिन उनले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका छन् ।