अछाम । ब्राजिलका ३७ वर्षीया एडिड एरेल पेशाले सङ्गीतकर्मी हुन् । उनी ब्राजिल लगायत युरोपका अन्य देशहरूमा पनि सङ्गीतलाई पेशा बनाएर काम गर्छन् । विभिन्न कोलाहल , तनावबाट केही समय भएपनि छुट्कारा पाउन र प्रकृतिसँग रमाउनका लागि उनी अछामको रामारोशन आइपुगेका हुन् ।
विश्वका दुई सयभन्दा बढी देशका नागरिक जोडिएको रेन्बो फेमेली ग्रुपमा एरेल सन् २०११ देखि जोडिएका हुन् । सामाजिक सञ्जालबाट रेन्बो फेमेलीका बारेमा थाहा पाए पछि उनको रोजाइमा पनि पर्न गयो । उनका अनुसार यो ग्रुपमा कोही पनि मुख्य मान्छे छैन । सबैलाई एकैनासको नियम बनाइएको छ । यसमा आबद्ध हुने सबै सदस्यले पालना गरेर अनुशासनमा बस्नु पर्छ । ‘रेन्बो फेमेलीमा जोडिएपछि एक वर्षमा २ देखि ३ महिना आफ्ना लागि छुट्याउने गरेको छु । नेपालको रामारोशन जस्ता सुन्दर क्षेत्रमा प्रत्येक वर्ष रेन्बो फेमेलीको ठूलो ग्यादरिङ हुन्छ ’ उनले भने ,‘मेरो पेशाबाट एक दिनको कमाई ५ सय अमेरिकी डलरसम्म हुन्छ । त्यो कमाइले पैसाले मात्रै शान्ति मिलेन । आफ्नो कमाइ आफ्नै लागि खर्च गर्ने स्वतन्त्रता छ । त्यसैले यो ठाउँमा आएँ ।’ ब्राजिलबाट मेक्सीको , त्यताबाट जर्मनी हुँदै इटाली र त्यताबाट नेपालसम्म आएको उनी बताउँछन् । ‘मलगायत १० जना साथीहरू एकै पटक आएका हौं । अरू पनि हामी जस्तै ग्रुपमा धेरै आएका छन् । सोचेभन्दा धेरै रमाइलो ठाउँ रहेछ ।’
अमेरिकाकी ३४ वर्षीया डियोगा माइया अछामको रामारोशन पुगेको एक साता भयो । उनीसँगै अमेरिकाका विभिन्न ठाउँबाट सयभन्दा बढी अमेरिकन रामारोशनमा छन् । क्यान्सरका क्षेत्रमा विभिन्न खालका खोज अनुसन्धान गर्ने डियोगा वैज्ञानिक हुन् । एक देशमा एक पटक मात्रै आयोजना गरिने यस्तो विश्वव्यापी मेलामा डियोगा ७ औं पटकसम्म सहभागी भइसकेकी छन् । रेन्बो फेमेलीसँग जोडिएर नेपालको रामारोशनसम्म उनी आउनुको एक मात्रै उद्देश्य हो मनको शान्ति खोज्नु । ‘यो भन्दा अगाडी अन्य देशहरूमा रेन्बो फेमेलसँग जोडिएर पनि गए । तर मैले यहाँको सुन्दरता र प्रकृतिसँग अन्य देशमा भन्दा बढी नै रमाइ रहेकी छु ’ उनले भनिन् ,‘बिहान उठेदेखि नसुतुन्जेलसम्म विभिन्न योगा , ध्यान , नाचगान र रमाइलो गरिन्छ । विभिन्न देशका रीतिरिवाज चाल चलनहरू देखाउने गरिन्छ । वास्तवमा यहाँ आफ्नै संसार छ ।’ उनका अनुसार यो ग्यादरिङमा जाने कसैले पनि मोबाइल मात्र होइन कुनै पनि विद्युतीय सामाग्री चलाउन पाउँदैनन् । यो नियम नै हो । एक अर्कालाई सम्मान गर्ने , गोपनीयताको संरक्षण गर्नेमा बढी जोड दिइन्छ । ‘यहाँ प्रकृतिसँग रमाउने हो । विद्युतीय सामाग्री त जता पनि चलाउन सकिन्छ । यहाँ प्रकृतिसँग रमाउने हो’ उनले भनिन् ,‘कोही यहाँ कसैलाई पनि थाहा नदिएर आएका पनि हुन्छन् । उनीहरू परिचय दिन चाहँदैनन् । त्यसैले एक अर्काको गोपनीयताको सबैले संरक्षण गर्नु पर्ने हुन्छ ।’
इजरायलका २८ वर्षीया स्पेक निक पेशाले शिभिल इन्जिनियर हुन् । उनी ३ वर्षदेखि रेन्बो फेमेलीको ग्यादरिङमा समावेश हुँदै आएका छन् । ‘९ महिना काम गर्ने हो । ३ महिना आनन्दले रमाउने हो । यसरी हामीलाई घुम्न आउन कसैले रोकतोक गर्दैन । हामी एकदमै स्वतन्त्र छौं ’ उनले भने ,‘ मैले नेपालको रामारोशन जस्तो ठाउँ“मा पुगिन्छ होला भन्ने मैले सोचेकै थिइन । भाग्यमानी महसुस भइरहेको छ ।’
उनका अनुसार यहाँ आउने सबै सदस्यहरू रामारोशनको रोशन पाटनमा टेन्ट हालेर बसेका छन् । सबै सदस्यको एउटै भान्सा छ । भान्साका लागि आवश्यक पर्ने खाद्यान्न र अन्य सामाग्री यहाँ आबद्ध भएका सबै सदस्यले स्वतःस्फूर्त रुपमा ल्याउँछन् । यहाँ आएका मध्ये आआफ्नो रुचि जे मा हो त्यही काम गरेर सहयोग गर्छन् । चिकित्सकले स्वास्थ्य क्लिनिक राखेका छन् । कुकले खाना पकाउँछन् , कसैले सरसफाइ गर्छन् । कोही गीत गाउँछन् । कोही नाच्छन् । जसले जे सिप छ त्यही प्रयोग गर्छन् ।
यी केही देशका प्रतिनिधि पात्र मात्रै हुन् । अहले विश्वभरका हजारौं पर्यटकहरू रामारोशनमा आउने क्रम जारी छ । सेप्टेम्बर १५ देखि अक्टोबर १० सम्म अछामको रामारोशनमा सुरु भएको वर्ल्ड रेन्बो ग्यादरिङ नेपालमा सहभागी हुन संसारभरिबाट सयभन्दा बढी देशका एक हजारभन्दा बढी रेन्बो फेमिलीका सदस्यहरू रामारोशन पुगिसकेका छन् । विभिन्न पेशा र विधामा कार्यरत संसारभरिका व्यक्तिहरू यसका सदस्य छन् । ओलम्पियनदेखि डाक्टर, इन्जिनियर, वकिल, प्राध्यापक लगायत विभिन्न पेशा र विधामा कार्यरत व्यक्तिहरू यसको सदस्य छन् । कतिपय बालबालिका र परिवारका सम्पूर्ण सदस्य सहित आएका छन् ।
रेन्बो फेमेलीमा जोडिएका नेपालका सुजन खनाल र सुशान्त पौडेल अछामको रामारोशन यो वर्षका लागि उपयुक्त स्थान भएको सिफारिस गरेका थिए । खनालका अनुसार रेन्बो फेमिली अफ लिभिङ लाइटका लागि काम गर्ने भोलेन्टरलाई स्काउट भन्ने गरिन्छ ।
रेन्बो फेमिलीको पहिलो भेला १९७० अगष्ट २८ देखि सेप्टेम्बर ३ सम्म अमेरिकाको ओरेगन पोर्टल्याण्डमा भएको थियो । अमेरिकाबाट शुरु भएको रेन्बो फेमिली हाल संसारका दुई सयभन्दा बढी देशमा छन् ।
‘रेन्बो फेमिली अफ लिभिङ लाइट’ का नामबाट खोलिएको यो स्वयंसेवी संस्था रहेको खनालले बताए । ‘स्काउटिङ मिसन अन्तर्गत १० देखि १५ जनाको १५ वटा वटा टोलीले देशका विभिन्न भागमा वर्ल्ड रेन्बो ग्यादरिङका लागि उपर्युक्त स्थान छनौटका लागि अध्ययन तथा स्थलगत अवलोकन गरेको थियो ’ खनालले भने ,‘ सोही क्रममा रामारोशन पुगेको टोलीले स्काउटिङ मिसनले वर्ल्ड रेन्बो ग्यादरिङका लागि रामारोशन छनौट गरेको हो ।’
उनका अनुसार ‘रेन्बो फेमिली अफ लिभिङ लाइट’ हिप्पी कल्चरको आधुनिक रूप हो । विभिन्न पेशा र विधामा कार्यरत संसारभरिका व्यक्तिहरू यसमा आबद्ध भएका छन् । ओलम्पियनदेखि डाक्टर, इन्जिनियर, वकिल, प्राध्यापक लगायत विभिन्न पेशा र विधामा कार्यरत व्यक्तिहरू यसको सदस्य छन् । उनीहरूले चन्द्रमा उदाउन शुरु भएदेखि पूर्णिमा सम्मको एक महिनाको अवधिमा वर्ल्ड रेन्बो ग्यादरिङ आयोजना गर्दै आएका छन् ।
थोरै संख्यामा फाट्टफुट्ट आन्तरिक पर्यटक आउने रामारोशनमा हजारौंको संख्यामा विदेशी पर्यटक आउँ दा व्यवस्थापनमा भने समस्या भएको यहाँका स्थानीय व्यापारी धर्म रोकाया बत्ताउँछन् । उनका अनुसार रामारोशन क्षेत्रमा सामान्य खालका ३ होटेल मात्रै छन् । विदेशी पर्यटकलाई चाहिने अत्यावश्यक सामाग्री पनि पुर्याउन नसकेको उनको भनाइ छ । ‘हामीलाई व्यापार कसरी गर्ने भन्ने सामान्य जानकारी पनि रहेनछ भन्ने महसुस भयो’ उनले भने ,‘ उनीहरूसँग भाषाकै समस्या छ । हामी उनीहरूको भाषा बुझ्दैनौं । उनीहरू हाम्रो भाषा बुझ्दैनन् ।’ उनका अनुसार रामारोशन क्षेत्रमा इशारा र हाउभाउकै भरमा व्यापारी र विदेशी पर्यटकले सामान किनबेच गरिरहेका छन् । ‘बर्सभरि हुने व्यापार एक दिनमा भइरहेको छ । बाहिर अनावश्यक हल्ला फैलाए जस्तो उनीहरूले नराम्रा गतिविधि पनि केही गरेका छैनन् ’ उनले भने ,‘प्लाष्टिकको प्रयोग एकदमै कम गर्छन् । हामीलाई पनि स्थानीय स्रोत सामाग्रीको प्रयोग गर्न , प्लाष्किट प्रयोग नगर्न सुझाव दिन्छन् ।’
रामारोशन क्षेत्रमा एकै पटक विश्वभरका पर्यटक आउनु रामारोशनका लागि सुनौलो अवसर भएको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउद बताउँछन् । उनका अनुसार उनीहरूका क्रियाकलापमाथि निगरानी गर्न सुरक्षाकर्मी पनि खटाइएका छन् ।‘ सुरक्षाको जिम्मा सुरक्षा निकायलाई वनको जिम्मा डिभिजन वन कार्यालयलाई , समन्वयको जिम्मा पर्यटन विकास समिति र हाम्रो पालिकाले हेरिरहेको छ’ उनले भने ,‘ उनीहरूलाई अहिले हामीले पनि सहयोग गरिरहेका छौं ।
रामारोशन गाउँपालिका –६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ । बाह्र बण्ड भनेको यहाँका १२ वटा ताललाई जनाउँछ भने अठार खण्ड भनेको यहाँ रहेका १८ वटा चौरलाई जनाउँछ ।
प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ । बाह्रवटा तालहरूमा सबैभन्दा ठूलो ताल जिगाले ताल हो । जसको आकार अंग्रेजी अक्षर सी जस्तो छ । जुन बाटुले तालभन्दा अलि माथि छ ।
यहाँको सानो तालमा ताउने ताल हो । यो हाल पुरिने अवस्थामा छ । जिगाले तालभन्दा माथि पनि धेरै तालहरू छन् । यो ताल भन्दा केही परपट्टी ठूला चउर छन् । जून अठार खण्डका नामले प्रख्यात छन् । यस्ता चउरहरू मध्येमा किनिमिनी चउर सबैभन्दा ठूलो चउर हो । जसको बिच भएर कैलाश खोला बग्दछ । यो सम्भवतः अछामकै ठुलो चउर हो । यसको केही माथि पट्टी रोशन चउर छ । यो पनि धेरै नै ठूलो छ ।
समुन्द्र सतहदेखि २०५० देखि ३७९२ मिटर उचाइमा फैलिएको रामारोशन इतिहास, प्राकृतिक सौन्दर्यता, आध्यात्मिक र जैविक विविधताले भरिपूर्ण छ । कैलाश खोलाको मुहान रहको रामारोशनमा प्रशस्तै गुफा र झरना छन् । साथै अनेकन् जंगली जनावर र पंक्षीको वासस्थानसमेत रहेको यहाँ थुप्रै मैदानहरू छन्, ती मध्ये मुख्य किनिमिनी, रामे र रोशन हुन ।
महादेव र पार्वतीको वासस्थानको रूपमा रहेको मानिने रामारोशनमा सिमसार क्षेत्र पनि छ । रामारोशन क्षेत्रलाई पर्यटकीय, धार्मिक र ऐतिहासिक अनुसन्धान गर्न पनि अति महत्त्वपूर्ण स्थानको रुपमा विकास गर्न सकिन्छ । परापूर्वकालमा राक्षसलाई जिगाले तालको बीचमा रहेको खम्बामा बाँधेर मारेकाले भन्ने जनश्रुतिसँगै नजिकै रहेको मन्दिरमा पूजा गरेमा मनोकामना पूरा हुने रामारोशनवासीको भनाइ छ ।