बारा– बाराको पचरौता नगरपालिका–६ स्थित लक्ष्मिनियामा असोज ९ गते मारिएका अजितकुमार सिंहको हत्यामा उनकै पत्नि संलग्न भएको पुष्टि भएको छ।
पत्नि २३ वर्षिय सोनम सहनीले प्रेमी सुजितकुमार सिंहसँग मिलेर अजितको हत्या योजना बनाएको प्रहरीले जनाएको छ। २२ वर्षिय अजितको ९ गते साँझ ६ बजे नेपाल भारत सिमानाको ७ सय मिटर नेपालतर्फ गोली हानी हत्या गरिएको थियो। सोनमसँग मिलेर सुजितको समुहले अजितको हत्या गरेको अनुसन्धानबाट थाहा भएको बाराका एसपी सुरेश काफ्लेले बताए । अजित र सुजित दुवै भारतीय नागरिक हुन् । सुजितकुमारसँग सोनमको विवाहेत्तर सम्बन्ध रहेको प्रहरीले जनाएको छ। सोही सम्बन्धका कारण अजितको हत्या भएको काफ्लेले वताए। उनका अनुसार सोनम बाराको सिम्रौनगढमा बस्दै आएकी थिइन् ।
घटना भएको दिन अजित र सुजित एकै मोटरसाईकलमा वसेर आएका थिए। लक्ष्मीनियाँमा आएपछि मोटरसाइकल रोक्न लगाएर सुजितले अजितलाई गोली प्रहार गरेका थिए। हत्या हुनुको अर्को कारण सुन चोरी पनि देखिएको प्रहरीले जनाएको छ। करिब ३ वर्षअघि भारतको घोडासनमा अजित र अजित मिलेर सुन लुटपाट गरेका थिए । सुनको ८ लाख नगदबारे उनीहरू बीचमा विवाद भएको अनुसन्धानबाट खुलेको छ। सुन बेचेको पैसा उनीहरुले जग्गा प्लटिङमा लगानी गरेका थिए । छौंडादानोको जग्गाको हिस्साबारे विवाद हुँदा सुजितले मृतक पत्नी सोनमसँग मिलेर हत्या गर्ने योजना बनाएको एसपी काफ्लेले जानकारी दिए । हत्यापछि सुजितले सोनमलाई फोन गरेर काम भएको जानकारी दिँदै कोठाबाट भाग्न भनेका थिए। हत्यामा संलग्न सुटर सुजितकुमार सिंहसहित ४ जना फरार छन् ।