2026/08/25

ओलीलाई लक्षित गर्दै नेपालले भने: हावादारी कुरा गर्नेसँग होसियार हुनु

Admin
Admin

२०८०-०६-१५

493
Shares
ओलीलाई लक्षित गर्दै नेपालले भने: हावादारी कुरा गर्नेसँग होसियार हुनु

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै हावादारी कुरा गर्नेसँग होसियार हुन आग्रह गरेका छन्।

पार्टीले आयोजना गरेको जागरण अभियान कार्यक्रमको दोस्रो दिन सोमबार इटहरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत मतिबाट अघि बढ्ने कम्यूनिष्ट नेतासँग होसियार हुन आग्रह गरेका हुन्।

‘कम्यूनिष्ट भनेर हरेकले गर्व गर्ने नेताहरु स्वर्गीय मनमोहन अधिकारी र मदन भण्डारी हुनुहुन्थ्यो,’ नेता नेपालले भने, ‘अहिले दक्षिणपन्थी अवसरवादी अनि कम्यूनिष्टको बाटो बिराउने नेतासँग सवैले सजक रहनुहोस्।’ उनले कम्यूनिष्ट नेता यर्थातवादी हुने भएकाले गर्दा कोही कसैको हावादारी कुराको पछाडि लाग्न नहुने बताए।

‘जो कम्यूनिष्ट नेता यर्थातवादी भएर अघि बढ्छ, रोजगारी र समृद्दिको मुल एजेन्डा बोकेर हिड्छ। शोषण, उत्पीडन बिरुद्द लाग्ने र सुशासन कायम गर्ने अनि भ्रष्टाचारबिरुद्द लाग्ने कम्यूनिष्ट नेतालाई साथ दिनुपर्छ,’ उनले भने, ‘अहिले जनताका मुद्दा अनि दलाल नोकरसाही पूँजीवादी व्यस्था अन्त्य गर्ने दिसामा हिडेको पार्टी एकीकृत समाजवादी हो।’ उनले २०६२–०६३ को जनआन्दोलनले सामन्तवादी इतिहास बोकेको राजतन्त्रको अन्त्य गरेपनि दलाल पूँजीवादी व्यवस्थाको अन्त्य गर्न नसकिएकाले आफ्नो पार्टी त्यही मुख्य मिसन बनाएर अघि बढेको प्रस्ट्याए।

‘सरकारलाई प्रभावकारी बनाएर र सदनमा जोडदार ढंगले समाजवादी सिद्दान्तको पक्षमा वकालत गर्नुका साथै सडकमा जनतासँगै रहेर निरन्तर अभियान चलाई रहनेछौं,’ नेता नेपालले भने, ‘समाजवादले जनताको जीवनलाई सुन्दर बनाउँछ।’

आइतबार झापाको काकडभिट्टास्थित मेची नदीबाट सुरु भएर दोस्रो दिन इटहरीमा भएको  जागरण कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राजतन्त्रबारे भ्रम फैलाएको जिकिर गर्दै कहिल्यै नफर्किने ठोकुवा गरे। ‘राजतन्त्रको बारेमा मन्दिर मन्दिरमा गएर आस्था जोगाउने काम भइरहेको भनेर भ्रम फैलाइएको छ,’ उनले भने, ‘राजतन्त्र कुनै पनि हालतमा फर्किदैन, कोही आतंकित हुनुपर्दैन।’

उनले देशमा सिर्जना भएको तमाम विकृतिका विकल्पमा वैज्ञानिक समाजवाद मात्र उत्तम हुने जिकिर गरे। ‘अहिले हाम्रो राष्ट्रियता खतरामा पर्ने अवस्थामा छ। अर्थतन्त्र संकटग्रस्त छ, नयाँ–नयाँ शोषण छ। भ्रष्टाचार मौलाउँदो छ। देश दलाल पूँजीपति वर्गको कब्जामा छ,’ उनले भने, ‘यी सबै विकृतिविरुद्द हाम्रो पार्टीले निरन्तर संघर्ष गर्दै प्राप्ति गरेरै छाड्नेछौं।’  

493
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja