काठमाडौं । दसैँका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । शुक्रबार(आज) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले बताए ।
अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका महानिर्देशक उद्धव रिजालले टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने बताएका छन् । कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन गरिने उनले बताए ।
सवारी भाडा, सवारी संख्या र रुट पर्मिट खुल्ला गर्ने विषयमा थप गृहकार्य हुँदै गरेको उनले जानकारी दिए ।
दसैँका लागि मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने र सडकलाई सहज बनाउने कामलाई तीव्र पारिएको भौतिक मन्त्रालयले जनाएको छ ।