2026/08/25

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्‌घाटन गर्ने 

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-२१

524
Shares
एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्‌घाटन गर्ने 

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आइतबार(आज)देखि सुरु हुँदैछ। आइतबार दिउँसो १२ बजेदेखि सुरु हुन लागेको प्रदेश अधिवेशनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने कार्यक्रम छ।

पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीले पहिलो प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। अधिवेशनका लागि नौ वटै प्रदेशका प्रतिनिधिहरू धनगढी पुगिसकेको जानकारी दिए।

अधिवेशनमा ६७५ प्रतिनिधि सहभागी रहने अध्यक्ष भण्डारीले जानकारी दिए। ९ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका छन्। बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरी १२८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरी ११७ जना प्रतिनिधि रहेका छन्।

यस्तै, कञ्चनपुरबाट १७ महिला, ३७ पुरुष र ९ दलित गरी ६३, बैतडीबाट १९ महिला, ३३ पुरुष र १६ दलित गरी ६८, दार्चुलाबाट १९ महिला, २८ पुरुष र ६ दलित गरी ५३, अछामबाट १२ महिला, ३४ पुरुष र ८ दलित गरी ५४ जना प्रतिनिधि रहेका छन्।

यस्तै, बझाङबाट १३ महिला, २६ पुरुष र ९ दलित गरी ४८, डोटीबाट ११ महिला, २३ पुरुष र ७ दलित गरी ४१, डडेलधुराबाट ५ महिला, १२ पुरुष र १ दलित गरी १८ जना प्रतिनिधि रहेका छन्। जनसंगठनबाट २५ महिला, ४३ पुरुष र ७ दलित गरी ७५ जना प्रतिनिधि रहने छन्।

पार्टीको मजदुर विशेष इलाका कमिटीबाट १ महिला, ४ पुरुष गरी ५ जना प्रतिनिधि रहेका छन् भने बुद्धिजीवी विशेष इलाका कमिटीबाट १ महिला र ४ पुरुष गरी ५ जना प्रतिनिधि रहने जनाइएको छ।

आइतबारबाट सुरु हुन लागेको प्रदेशको अधिवेशनमा नेतृत्वका लागि ३ जना आकांक्षी रहेका छन्। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह, अछामका कमल तिमिल्सेना र कृष्णप्रसाद जैशी नेतृत्वको दौडमा रहेका छन्।

अध्यक्ष पदका उम्मेदवार तिमिल्सेना २०४४ सालदेखि अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र जिल्ला अध्यक्ष, अञ्चल कमिटी सदस्य हुँदै उनी प्रदेशका उपाध्यक्षसमेत बनिसकेका छन्। 

अध्यक्षका अर्का आकांक्षी जैशीसँग अछाम जिल्ला विकास समितिको सभापति, पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएको अनुभव छ।

524
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja