काठमाडौं । इजरायल-प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेका छन्।
कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका हुन्।
उनले लेखेका छन्, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् , हामी देशमा नै रमाउने छौं।’
यस्तो छ उनको पत्र:-
मिति २०८०/०६/२२
श्रीमान् प्रधानमन्त्री ज्यू
नेपाल सरकार
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिनै लागेका विद्यार्थीहरू(११४) जना अहिले हामी इजरायल र हमासको द्वन्द्वको चपेटामा फसेका छौं । ११ महिनामा यस देशबाट केही सीप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किँदै गइराखेको छ । हाम्रो आत्मबल घट्दै गइराखेको छ, हामी मानसिक तनावमा पुग्न आँटिसकेका छौं अब धेरै सोच्ने परिस्थिति पनि बाकी छैन ।
आकाशमा चरा उडेको देखेको हामी, आज मिसाइल र फाइटर पेलेन देख्नुपरेको छ । तिहारमा पटका खुसीका साथ रमाउँदै गरेका हामी आज आफू अगाडि बन्दुक पड्किराखेको देखेर त्रसित छौं । बंकरमा लुक्यो भने बंकरभित्र नै छिरेर आक्रमण भइराखेको छ । हाम्रा सुदूरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले छाती चिरिएको छ । हामी स्तब्ध छौं, हमलामा पर्यो भने गोली निल्नेको अर्को विकल्प केही छैन । लुकेर बसेका हामीहरू खाना र पानीको समस्यामा जुध्नुपरेको छ । नखाऊ भने भोक र प्यास लाग्छ खाऊ भने बाहिर शौचालय जान डर लाग्छ। आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ हामीलाई भर्खरै हाम्रो देश फर्किने मन छ ।
आदरणीय प्रधानमन्त्री ज्यू, अबको हाम्रो आशा पनि तपाईं नै हो भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर१ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् देशमा नै रमाउने छौं ।
हामी नेपालको ‘३’ विश्वविद्यालयबाट यहाँ छौं ।
१.कृषि तथा वन विज्ञान विश्वविद्यालय
२. त्रिभुवन विश्वविद्यालय
३. सुदूरपश्चिम विश्वविद्यालय
सँगसँगै यहाँ अन्य विद्यालयहरू र नेपाली नागरिक हुनुहुन्छ छिटो भन्दा छिटो नेपाल सरकार र प्रधानमन्त्रीको प्रत्याभूतिको तपाईंले अवश्य गराउनु हुनेछ यो हाम्रो तपाईंप्रतिको विश्वास हो, यहाँ विश्वास मा नै हाम्रो सास अड्किएको छ ।
(युद्धको चपेटामा परेका नेपाली )
सुरज भण्डारी
कृषि तथा वन विज्ञान विश्वविद्यालय
हाल ठेगाना
kadesh barnea, israel
+972512825166
नेपाली ठेगाना
अन्नपूर्ण गाउँपालिका—२ कास्की