2026/08/26

इजरायल युद्ध : ५५ नेपालीलाई सेल्टरमा सारियो, बंकर लैजाने तयारी

Admin
Admin

२०८०-०६-२३

474
Shares
इजरायल युद्ध :  ५५ नेपालीलाई सेल्टरमा सारियो, बंकर लैजाने तयारी

इजरायलको गाजा क्षेत्रमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ।

परराष्ट्र मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता सेवा लम्सालका अनुसार युद्धको जोखिममा रहेका ५५ जनालाई तेल अबिबस्थित नेपाली दूतावासको पहलमा सेल्टरमा सारिएको हो।

‘असुरक्षित क्षेत्रमा रहेका विद्यार्थीहरुलाई सुरक्षित क्षेत्रमा सारिसकेका छौं। आज सेल्टरमा हुनुहुन्छ उहाँहरु। आजै जतिसक्दो छिटो बंकर भएको स्थानमा लैजाने तयारी भइरहेको छ’, सहसचिव लम्सालले भनिन्। 

यस्तै त्यहाँ रहेका नेपालीलाई के सहयोग आवश्यक पर्छ भनेर फारम भराउने प्रक्रिया पनि चलिरहेको र देश फर्किन चाहनेहरुको पनि तथ्यांक संकलन भइरहेको परराष्ट्रले जनाएको छ।

‘कसको के स्थिति छ? कस्तो अप्ठेरोमा हुनुहुन्छ? के सहयोग चाहिएको छ? को आउन चाहनुहुन्छ भनेर विवरण संकलनको काम पनि भइरहेको छ। सोमबारसम्म यो तथ्यांक दुई सयभन्दा बढी थियो। आज थपिएको छ’, लम्सालले भनिन्, ‘हामी उच्च प्राथमिकतामा राखेर सबै विकल्पहरुमा काम गरिरहेका छौं।’

सरकारले उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स पठाउने निर्णय गरेको छ। 

तर युद्धको समयमा मारिएकाको शव पठाउने प्रक्रिया अर्कै हुने र त्यो प्रक्रिया पनि सुरु भइसकेको लम्सालले बताइन्। उनका अनुसार १० जना नेपालीको शव इजरायल सरकारको नियन्त्रणमा छ। सबै प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गर्नेछ। 

त्यसपछि शव लिनका लागि नेपालबाटै एयरलाइन्स पठाएर त्यहाँ ल्यान्ड गर्नसक्ने अवस्था हुन्छ/हुँदैन भनेर पनि समन्वय गरिरहेको लम्सालले बताइन्। युद्ध थप चर्किएको अवस्थामा भने नेपाली जहाज पठाउन सम्भव नहुने भएकाले अन्य छिमेकी राष्ट्रसँग पनि समन्वय भइरहेको छ।  

त्यहाँ अहिलेको अवस्थामा बंकरमा बस्नु नै सुरक्षित हुने भएकाले परराष्ट्रले इजरायलमा रहेका नेपालीलाई बंकरमा बस्न पनि अनुरोध गरेको छ।

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच भएको लडाइँमा १० नेपालीको मृत्यु भएको छ। एकजना बेपत्ता भएका छन्। केही घाइते रहेको अबिबस्थित नेपाली दूतावासले आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

नेपालबाट कृषि फार्ममा काम गर्न र सिक्न ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सूदुरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरु हमासको आक्रमणमा परेका हुन्। 

उनीहरु दक्षिण इजरायलको किबुज अलुमिम क्षेत्रको कृषि फार्ममा कार्यरत थिए। सरकारले त्यहाँ रहेका नेपालीको संरक्षण तथा उद्धारका लागि पहल र समन्वय गर्न परराष्ट्र मन्त्रीको संयोजकत्वमा संयन्त्र बनाएको छ। 

474
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja