2026/07/30

केदार कार्की गठबन्धनकै मुख्यमन्त्री हो : प्रधानमन्त्री प्रचण्डले 

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-२७

553
Shares
केदार कार्की गठबन्धनकै मुख्यमन्त्री हो : प्रधानमन्त्री प्रचण्डले 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की अब गठबन्धनकै मुख्यमन्त्री भएको बताएका छन्। शनिबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले कोशी प्रदेशमा आउन लागेको समस्यालाई सेफ ल्यान्डिङ गरिएको बताए।

‘अहिले कार्कीजी मुख्यमन्त्री बन्नुभएको छ। त्यो हामी सबैको पनि मुख्यमन्त्री हुनुभयो। त्यसकारण त्यो समस्या जसरी सोचिएको थियो र मिडियामा जसरी चर्चा परिचर्चा भएको थियो। अब ल्यान्डिङ हुँदाखेर सेफ ल्यान्डिङ गरिएको छ’, उनले भने।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको भए पनि कांग्रेसका शेखर कोइराला पक्षका नेता केदार कार्कीले एमालेको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। अन्ततः कार्की नै मुख्यमन्त्री बनेका छन्।

शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा तथा कोइरालाबीच बालुवाटारमा गठबन्धन कमजोर हुन नदिने सहमति भएको थियो। सोही सहमतिको चर्चा गर्दै प्रचण्डले कार्कीलाई आफूहरूको पनि मुख्यमन्त्री भएको बताएका हुन्। उनले आफूहरूले कार्कीलाई विश्वासको मत दिने पनि बताए।

कोशी प्रदेशको घटनाबाट चिसो पस्यो होला नि भन्ने पत्रकारको प्रश्नमा प्रचण्डको जवाफ थियो, ‘राजनीतिमा चिसो तातो भइराख्छ। यो ठूलो कुरा होइन पनि। कहिलेकाहीँ गठबन्धन र पार्टीभित्र अलिअलि विवाद हुँदाचाहिँ र विवाद समाधान हुँदा झन् बलियो भएर आउने पनि वातावरण बन्छ। हामीलाई के विश्वास छ भने, आज बिहान भएको सहमतिले गठबन्धनलाई अझ बलियो बनाउन मद्दत गर्छ।’

उनले कोशीमा सर्वपक्षीय सरकार गठनको सम्भावना आफूले नदेखेको पनि बताए।

553
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja