उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको बताए । उनले अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदै छ भन्नेजस्ता भ्रम नछर्न आग्रह गरे । उनले नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो रहेको बताए ।
उनले भने, ‘उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्था छ । त्यसका लागि सेनाको एउटा बोर्ड छ । त्यो बोर्डले सम्बन्धित अधिकृतको आफ्नो कार्यकालको भूमिका प्रभावकारिताको मूल्याङ्कन गरी बढुवाको लागि सिफारिस गर्छ । प्रधानसेनापतिले त्यो सिफारिसको आधारमा रक्षा मन्त्रालयमा सिफारिस पठाउनु हुन्छ, रक्षा मन्त्रालयले अध्ययन गर्छ, त्यसपछि मन्त्रीपरिषद्मा गएर एक पटकलाई पदावधि थपिने प्रचलन अनुसार यमप्रसाद अधिकारीको पनि अहिले तीन वर्षको लागि म्याद थप गरेको हो ।’
उनले नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड रहेको बताए । उनले सेनाको विधान बाहिर गएर सरकारले कुनै काम नगर्ने बताउँदै यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको दाबी गरे ।
उनले भने, ‘सैनिक नियमका आधार भन्दा दायाँबायाँ सरकार जाने, रक्षा मन्त्रालय जाने, म जाने कल्पना पनि गर्न सक्दिन । त्यसैले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत हो । झुटो हो, सबै सूचना गलत सूचनाको आधारमा केही सञ्चारमाध्यमले गलत सूचनामा समाचार बनाएर एउटा स्थापित संस्थालाई हामीले गलत सूचनाबाट र त्यसै आधारमा फेसबुक भरिएका छन् ।’
उपप्रधान एवं रक्षा मन्त्री खड्काले सरकार सूचना प्रविधिलाई विकास, आर्थिक रूपान्तरण, जनताको जीवनस्तरमा सुधार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको स्वच्छन्द र सिर्जनात्मक अभ्यासमा उपयोगी बनाउनेतिर आवश्यक नीति, कानुन, योजना बनाउँदै अघि बढ्ने बताए ।