2025/12/28

दुर्गमको निशुल्क बयालपाटा अस्पताल: डाक्टर विज्ञानको नेतृत्वले गर्यो एकै दिनमा पाँच जनाको अप्रेसन

Admin

२०८०-०७-०१

414
Shares

अछाम- सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा रहेको बयालपाटा अस्पतालमा एकै दिन ५ जनाको सफलशल्यक्रिया भएको छ। बाजुरा, डोटी र अछामका विभिन्न ठाँउबाट थप उपचारका लागि रेफर भई आएका उनीहरुको बयालपाटा अस्पतालमा सफल शल्यक्रिया भएको हो। 

'५ जनाकै हातको हड्डी भाँचिएपछि उनिहरुको अप्रेसन गरेर रड राख्नु पर्ने थियो' उपचारमा संलग्न टिमको नेृतत्व गरिरहेका डा विज्ञान लामिछानेले भने, 'हामीले पालै पालो अप्रेसन गर्न सफल भयौँ।'

'अप्रेसन गर्नको लागि हामीसँग २ वटा सेट मात्र छ' डा लामिछानेले भने, 'तर पालै पालो गरेर भएपनि हामीले उनीहरुको सफल अप्रेसन गर्‍यौं।'

श्रोतसाधन अभावकाबीच एकैदिन ५ जनाको अप्रेसन हुनु डा लामिछाने आफैले पनि उपलब्धी मानेका छन्।' 

'दुर्गम ठाँउमा हरेक दिन कोही न कोही जटिल खालको बिरामी अस्पताल आउँछन् हामीले अप्रेसन गर्नुपर्ने नै हुन्छ तर एकैदिन ५ जनाको अप्रेसन गर्नु आफैमा पनि चुनौतिपूर्ण थियो' उनले भने। 

५ जनामध्ये एक जना ११ वर्षिक बालक बाजुराको  बिकट ठाँउबाट २ दिन लगाएर बयालपाटा अस्पतालमा पुगेका थिए। उनको लडेर माथिल्लो पाखुराको हड्डी भाँचिएको थियो। उनको पनि अप्रेसन गरेर सो ठाँउमा रड राख्नुपर्ने थियो। डा लामिछानेको टोलीमा एनेस्थेशिया महेन्द्र कुँवर, शिवशंकर शर्मा, कुल धामी, पवन रेखा जोशी, राजेश्वरी कुमाल, दिपा बम, लक्ष्मी बिक समेत संलग्न थिए। 

पाँचै जनाको एकैदिन सफल अप्रेसन पश्चात उनीहरुलाई घर पठाइएको डा लामिछानेले बताए। 'बिगत ८ वर्षदेखि मन्दिप दाईले जटिल खालका हार्डजोर्नीका सफल अप्रेसन गरिसक्नु भएको छ' डा लामिछानेले भने, 'त्यही बिश्वासका साथ बिरामीहरु बयालपाटा आउछन् र निको भएपश्चात खुसी भएर घर फर्किन्छन्।'

'यदि उनीहरुको उपचार बयालपाटामा हुननसकेको भए धनगढी वा नेपालगञ्ज जानुपर्ने बाध्यता हुन्थ्यो' डा लामिछानेले भने, 'त्यसो हुदाँ आउन जान र उपचार गर्न कम्तिमा पनि एक जनाले एक लाख बढी खर्च गर्नुपर्ने हुन्थ्यो। 

न्याय हेल्थ नेपाल नामक गैर सरकारी संस्थाको व्यवस्थापनमा सञ्चालनमा रहेको बयालापाटा अस्पतालमा  सबै प्रकारका सेवा  निःशुल्क प्रदान भईरहेका छन्। पछिल्लो ६ महिनायता अछामसँगै बाजुरा, डोटी, दैलेख, कालिकोट, मुगु, डडेलधुरा लगाएत जिल्लाबाट आएका बिरामीहरुले बयालपाटा अस्पताल पुगेर शल्यक्रिया सेवा लिएका छन्। 

अस्पतालले बिगत १५ वर्षदेखि संस्थाले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा दातृ निकायसँग मिलेर दुर्गम क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ।  

६ महिनामा ४ सय ५१ वटा सफल अप्रेशन
पछिल्लो ६ महिनामा बयालपाटा अस्पतालमा ४ सय ५१ वटा सफल शल्यक्रिया भएका छन्। गर्भवती महिला, हाडजोर्नी, हाइड्रोशिल, हर्निया र एपेन्डिक्स गरेर ४ सय ५१ सफल शल्यक्रिया भएका बयालपाटा अस्पतालले जनाएको छ। 

मेडिकल निर्देशक समेत रहेका अर्थोपेडिक सर्जन डा मन्दिप पाठक आएदेखि नै हाडजोर्नीका जटिल प्रकारका समेत शल्यक्रिया बयालपाटा अस्पतालमा भएको अस्पतालले जनाएको छ। बिगत केही समय एमडिजिपी नुहँदा रोकिएका शल्यक्रिया समेत अहिले धमाधम हुन थालेका छन्। 

एमडिजिपी नहुदाँ रोकिएका हाइड्रोशिल, हर्निया र एपेन्डिक्सका अप्रेसनहरु अहिले भइरहेका हुन्। एमडिजिपीको रुपमा डा ध्रमेन्द्र साहसँगै न्याम्समा एमडिजिपी तेश्रो वर्षमा अध्ययन गरिरहेका डाक्टरहरु ३/३ महिनाको लागि बयालपाटा आएपछि अप्रेसन सेवा प्रदान भइरहेको छ।

पछिल्लो ६ महिनायता चिकित्सा विज्ञान प्रतिष्ठानबाट  आएका डा अकिंत श्रेष्ठ, डा अनुराधा प्रधान  डा विज्ञान लामिछानेले अस्पतालमा सेवा दिइहरेका छन्। 

को हुन् डा विज्ञान लामिछाने
dr-bikash-bayalpata-hospital-1697526193.jpg
कास्की जिल्लाको पोखरामा जन्मिएका डा बिज्ञान लामिछानेले मणिपाल कलेज अफ मेडिकल साइन्स पोखराबाट एबीबीएस उर्तिण गरी १ वर्ष तत्कालिन न्याय हेल्थ नेपालको व्यवस्थापनमै सञ्चालनमा रहेको चरिकोट अस्पतालमा काम गरे। 

न्याय हेल्थ नेपालको व्यवस्थापनमा सञ्चालन भएका अस्पतालहरुले दिने सेवा, बिरामीलाई पहिलो प्राथमिक्ता दिने संस्थाको ध्येय र उद्देश्यबाट डा लामिछाने प्रेरित भएका थिए। तत्पश्चात डा लामिछाने एमडिजिपी इएम अध्ययन गर्न चिकित्सा विज्ञान राष्ट्रिय  प्रतिष्ठान काठमाडौंमा गए। 

अहिले उनी आफ्नो अध्ययनको अन्तिम वर्षमा छन्। सोही अध्ययनको ३ महिने कम्युनिटी पोस्टिंगको लागि उनले बयालपाटा अस्पताललाई रोजेका छन्। बयालपाटा अस्पतालले बिगत १५ वर्षदेखि दुर्गम क्षेत्रका जनतालाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरिरहेको कार्यप्रति प्रभावित भएर उनले बयालपाटालाई रोजेको  बताए। 

दुर्गम क्षेत्रमा प्रयाजसो डाक्टरहरु धेरै समय बस्न नरुचाइरहेका बेला उनीभने आफू अध्ययन पूरापश्चात पनि यस्तै दुर्गम क्षेत्रमा काम गर्ने बताउँछन्। दुर्गम क्षेत्रकै लागि भनेर एमडिजीपी इएम अवधारणा ल्याइएको भन्दै उनले भन्छन्- 'जहाँ सामान्य, आकिस्मक तथा अन्य अप्रेसनका सेवा समेत दिन सकियोस्।'

असह्य, दुखी, गरिबी बिरामीलाई उपचार दिएपश्चात उनीहरुको मुहारमा देखिने खुसीले नै आफूलाई सन्तुष्टि मिल्ने उनी बताउँछन्। यसरी दुर्गम क्षेत्रका जनतालाई सेवा दिन पाउँदा आफूलाई गर्व महसुश भएको उनी सुनाँउछन्। 

414
Shares

©News Kunja 2021-2025. All rights reserved.