2026/08/25

पर्वतमा गाई भैँसीलाई सुत्केरी पोषण भत्ता वितरण

Admin
Admin

२०८०-०७-०२

524
Shares
पर्वतमा गाई भैँसीलाई सुत्केरी पोषण भत्ता वितरण

पर्वतमा गाई भैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ। जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो।

गाउँपालिकालाई पशुपालनका माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष पनि निरन्तरता दिइएको पालिका कार्यालयले जनाएको छ।

कृत्रिम गर्भाधानका माध्यमबाट गाईभैँसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र आचार्यले बताए।

कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाच्छाबाच्छी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो।

विशेष गरेर जन्मिँदाबित्तिकै भैँसीका पाडापाडी काटेर खाने (नपाल्ने) चलन हटाएर संरक्षण गर्न कार्यक्रम सञ्चालन गरिएको भन्दै यो कार्यक्रम प्रभावकारी देखिएको पशु सेवा प्राविधिक दिपक श्रेष्ठ बताउँछन्।

गत आर्थिक वर्ष २०७९/८० मा ७२ जना कृषकलाई पाडापाडी र बाच्छाबाच्छी हुर्काएबापत पोषण भत्ता स्वरुप दुई हजार पाँच सयका दरले कूल एक लाख ८० हजार वितरण गरेको शाखाले जनाएको छ।

जनप्रतिनिधि र पशु सेवा प्राविधिकले बाच्छाबाच्छी र पाडापाडीको अनुगमन गरेर अनुदान उपलब्ध गराउने कार्यविधि छ। नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमका अलावा उन्नत जातका राँगो, साँढे र बोकासमेत वितरण गरेको छ। यसका लागि अनिवार्य पशुबीमा गर्नुपर्ने उल्लेख गरिएको छ।

524
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja