2026/07/29

नेतृ झाँक्रीले एनआरएनलाई नेपाली पासपोर्ट बोक्नुहुन्छ भने हामीसँग चुनाव लड्नुहोस् भनेपछि...

Admin
Admin

२०८०-०७-०२

494
Shares
नेतृ झाँक्रीले एनआरएनलाई नेपाली पासपोर्ट बोक्नुहुन्छ भने हामीसँग चुनाव लड्नुहोस् भनेपछि...

काठमाडौंमा जारी एनआरएन महाधिवेशनमा नेतृ रामकुमारी झाँक्रीले गरेको भाषण यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

एनआरएन सम्मेलनमा अतिथि बनेर पुगेकी झाँक्रीले एनआरएनलाई दिइएको अधिकारका बारेमा अभिव्यक्ति दिएकी थिइन्। अहिले सोहि अभिव्यक्ति भाइरल बनेको हो।

झाँक्रीले नेपालको कानुन कस्तो हुनुपर्ने भन्ने कुरामा एनआरएनहरुलाई चासो नदेखाउन आग्रह गरेकी छिन्। उनले भनिन्, 'नेपालको कानुन कस्तो हुने ? तपाईंको अधिकार होइन, हाम्रो अधिकार हो। नागरिकता त त्यागिसक्नुभएको छ नि तपाईंहरूले ? (दर्शकदीर्घाबाट हल्ला र प्रश्न सुरु हुन्छ,तपाईंलाई कानुन थाहा छ ?) तपाईं ब्रिटिश पासपोर्ट बोकेर आउनेले यो भन्न पाउनुहुन्न । नेपाली पासपोर्ट बोक्नुहुन्छ भने हामीसँग चुनाव लड्नुहोस्।'

उनले एनआरएनलाई सिटिजनसिपको अधिकार नभएर गैरआवासीय नेपालीको अधिकार दिइएको पनि बताएकी छिन्। 'मानव अधिकार विश्वव्यापी हुन्छ। सिभिल राइट त्यो देशको टेरिटोरीमा संविधानतः प्रदत्त गरिएको हुन्छ। तपाईंहरूलाई सिटिजनसिपको अधिकार दिइएको होइन। तपाईंहरूलाई गैरआवासीय नेपालीको अधिकार दिइएको हो। यति कुरा थाहा पाइराख्नुस्। यहाँ आएर अहिले ठूलो कुरा नगर्नु...। तपाईंहरूले आफ्नो खुसीले नेपाली नागरिकता त्यागेको हो। अनि अहिले खुसीले त्यागेको कुरा, तपाईंहरूले केही आर्थिक समृद्धिका काम, केही सीपका काम गर्नुहोला भनेर गरेको हो। अनि यो हामीलाई थाहा छैन ?' उनले भनेकी छिन्।

झाँक्रीले एनआरएनलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिएको बताउँदै भनेकी छिन्, 'तपाईंहरूलाई दिइएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हो। भोटिङ राइटको पोलिटिकल अधिकार होइन र यो हुन सक्दैन। तपाईंहरू खुशीले नागरिकता त्यागेर गएकाहरूलाई आउन इन्भाइट गरेको हो। यहाँ हाम्रो पनि स्वार्थ छ, तपाईंहरूको पनि स्वार्थ छ। ब्रिटिश गोर्खाको सन्दर्भमा फरक कुरा हो।'

त्यस्तै झाँक्रीले स्टान्डर्ड भाषामा देश अनुसारको देशको कर प्रणाली, कानुन र आप्रवासनको बारेमा स्टाटस लेख्न पनि एनआरएनलाई आग्रह गरेकी छिन्।  

'तपाईं विदेशमा बस्नुहुन्छ भने त्यो देशको स्टान्डर्ड भाषामा त्यो देशको कर प्रणाली, कानुन र आप्रवासनको बारेमा स्टाटस लेख्नुस् । बिहान जुरुक्क उठेर आँखाको चिप्रा नपुस्दै नेपाली राजनीतिका बारेमा किन कमेन्ट गर्नुपर्‍यो र? यहीं चिन्ता गर्ने मान्छे, यसका लागि मरेका, रगत बगाएका, हातखुट्टा भाँचिएका र सञ्जोगले बाँचेका हामी ज्यूँदै छौं। यो देशको चिन्ता हामीले गर्छौं,' उनले भनेकी छिन।

एनआरएनहरुले नेपालको पोलिटिसिएन, सिस्टमका बारेमा लेखेको स्टाटसले पछिल्लो पुस्तालाई आतंककारी बनाउने पनि उनको आरोप छ। उनले भनिन्,'विश्वका यस्ता मुलुक घुमेर ग्लोबल सिटिजन भएर के सिकेर आउनुभयो र? बिहान भाले बास्नुभन्दा अगाडि तपाईंले लेखेको स्टाटस नेपालको पोलिटिसिएन, सिस्टमका बारेमा तपाईंहरूले गरेको कमेन्टले तपाईंहरूले अब अर्को पुस्तालाई आतंककारी बनाउँदै हुनुहुन्छ। त्यसकारण यो आतंककारी बनाउने बाटो तर्फ नजानुस्। तपाईंहरूले त्यो देशको बेलायतमा किन १० वर्षबाट २० वर्ष भयो आईएलआर बनाउन ? त्यहाँ गएर भन्न सक्नुहुन्छ रु बेलायतमा तपाईंको स्टाटस जे हो, आज तपाईंको नेपालमा नेपाली नागरिकता त्यागेपछि त्यही स्टाटस हो मित्र।'  

झाँक्रीले भाषण सुरु गर्दा कार्यक्रम हलमा सहभागीहरुले ताली बजाएका थिए। तर अन्तिमतिर भने होहल्ला भएको थियो।

494
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja