2026/09/13

एनआरएनए विवाद : आरके शर्माको नेतृत्वमा छुट्टै समिति घोषणा

Admin
Admin

२०८०-०७-०५

769
Shares
एनआरएनए विवाद : आरके शर्माको नेतृत्वमा छुट्टै समिति घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनअन्तर्गत भएको चुनावी परिणामबाट असन्तुष्ट पक्षले राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा छुट्टै (समानान्तर) समिति घोषणा गरेको छ।

चुनावबाट विजयी घोषित बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा अलग्गै समिति बनाइएको हो।शर्मा पक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा अस्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेसन पद्धति प्रयोग गरी भएको मतदानका क्रममा गम्भीर त्रुटि देखिएपछि शर्मालाई सर्वसम्मतरूपमा २०२३–२५ का लागि अध्यक्षमा चयन गरिएको हो।’यो समिति नै आधिकारिक भएको दाबी पनि शर्मा पक्षले गरेको छ। 

शर्मा नेतृत्वको कार्यसमितिमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष छन्। त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिदलाई चयन गरिएको छ। 

यसैगरी महासचिवमा बुद्धी सागर सुवेदी तथा उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन्। त्यस्तै सचिवमा लोकप्रसाद दाहाल, कृष्णजीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला चयन भएका छन्। कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना तथा सहकोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन्।

यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ चयन भएका छन्। शर्मा पक्षले मत परिणाममा भएको त्रुटिबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी घोषित पक्षले तोडेको आरोप लगाएको छ। सहमतिविपरीत शनिबारै शपथ गरिनुले धाँधली भएको पुष्टि हुने उनीहरूको दाबी छ। 

769
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja