काठमाडौं । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार(आज) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।