2026/06/06

इन्डियन आइडलमार्फत मेनुकाले भारतमा मच्चाएको तहल्का

Admin

२०८०-०८-१४

548
Shares

नेपालकी मेनुका पौडेल अहिले चर्चामा छिन्। भारतीय रियालिटी शो ‘इन्डियन आइडल-१४’ को मञ्चमा दमदार प्रस्तुति दिइरहेकी मेनुकाको चौतर्फी प्रशंसा भइरहेको छ। वर्षौंको साधना अनि मेहनतले उनको स्वरमा जादु भरेको छ। त्यसैले इन्डियन आइडलको हरेक एपिसोडमा जजहरुसहित दर्शकको मन तानिरहेकी छिन् मेनुका। 

डेढ महिनाअघि इन्डियन आइडलको पहिलो एपिसोड प्रसारण भएको थियो। मेनुकाले अडिसन राउन्डमा ‘तुम्हारे बिना हमारा कौनो नही’ बोलको शास्त्रीय भजन गाएकी थिइन्। जुन गीत सुनेसँगै जजहरु कुमार सानु, श्रेया घोषाल र विशाल ददलानी भावुक भए। मेनुकाको प्रस्तुति सकिए पनि आँसु झार्दै उनीहरु एकछिन बोल्न सकेनन्। एकछिनपछि तीनैजनाले मेनुकाको सम्मानमा उठेर ताली बजाए।

त्यसपछि भने जजहरु मेनुकाको प्रशंसा गरेर थाकेनन्। मेनुकाको गायकीको तारिफ गर्दै विशाल ददलानीले भने, ‘मेनुका हामी संगीतकर्मी जुन चिजलाई पुज्छौं नि, त्यसलाई आज आफूसामु देखिरहेका छौँ। म साक्षात् जुन चिजलाई पुज्छु, त्यो तिमी हौ। श्रेया रोइरहेकी छिन्। म रोइरहेको छु। आज मैले दिलबाट नै  म्युजिकलाई सरी भन्नुपर्छ। जुन सच्चाइका साथ तपाईँले गीत गाउनुभएको छ।’

त्यसपछि उनको गला अवरुद्ध भयो।

श्रेयाले पनि मेनुकाको गायकी सुनेर आफूभित्रको संगीत जागेको बताइन्। ‘तिमीले आज यस्तो गायौ कि हामी म्युजिसियनभित्रको संगीत र स्पष्टता जगाइदियौ। तिमीसँग के छ तिमीलाई पनि थाहा छैन। तिमीलाई यस्तो आशीर्वाद छ जो तिमी महसुस गर्न सक्दिनौ। मलाई लाग्दैन कि इन्डियन आइडलमा यति राम्रोसँग कसैले गाउन सक्छ।’

फेरि विशालले भने, ‘तिमीले मेरो लागि धेरै काम गरिदियौ। आजको दिनदेखि मैले जुन संगीत बनाउँछु, त्यो भिन्न हुनेछ। कारण तिमी हौ।’

त्यसपछि तीनै जना जजहरु मञ्चमा पुगेर मेनुकालाई गोल्डेन माइक थमाए। गोल्डेन माइक पाएसँगै मेनुकाले सिधै थिएटर राउन्ड अर्थात् टप १५ मा इन्ट्री गरिन्।  

गोल्डेन माइक पाएसँगै मेनुकाको गायकी उकालो गतिमा छ। किनकि पछिल्ला हरेक एपिसोडमा मेनुकाले आफ्नो गायकीले जजसहित दर्शकबाट तारिफ बटुलिरहेकी छिन्। भारतीय मिडियाले पनि मेनुकालाई राम्रो स्थान दिएका छन्। यतिसम्म कि मेनुकालाई स्वर कोकिला लता मंगेशकरसँग समेत तुलना गर्न थालिएको छ।

गृहप्रवेश एपिसोडमा ‘सत्यम शिवम सुन्दरम’ गीतमा प्रस्तुति दिएकी थिइन् मेनुकाले। त्यतिबेला पनि उनले जजहरुबाट तारिफमा ‘स्ट्यान्डिङ ओभेसन’ पाएकी थिइन्। 

एक एपिसोडमा बलिउडका फिल्म निर्माता महेश भट्ट अतिथिका रुपमा पुगेका थिए। सन् १९९८ मा भट्टले निर्देशन गरेको चर्चित फिल्म ‘जख्म’ को ‘गली मे आज चाँद निकला’ गाउने क्रममा मेनुकाको मन्त्रमुग्ध पार्ने स्वर सुनेपछि उनले आफूलाई सम्हाल्न सकेनन्। ‘जख्म’ महेशका लागि विशेष फिल्म हो। किनकि यो फिल्म उनकी आमा सिरिन मोहम्मद अलीको जीवनीमा आधारित छ।

जजहरु श्रेया, विशाल, कुमार सानुसहित महेश भट्टले मेनुकालाई ‘स्ट्यान्डिङ ओभेसन’ दिए। प्रस्तुतिपछि महेशले मञ्चमै गएर मेनुकालाई अँगालो हालेर टाउकोमा चुमे।

‘मेरो जिन्दगीको आफ्नै कथा यसमा कैद छ। जुन फिल्मले नेसनल अवार्ड पाएको थियो। यस फिल्ममा हामीले त्यझ हिन्दुस्तानलाई चित्रण गरेका छौँ जो मिलिजुली बस्नुपर्छ भन्ने कुरालाई सेलिब्रेट गर्छ। मलाई आज यकिन भएको छ, एउटा आँखा मनभित्र पनि हुन्छ। जसबाट तपाईँ संसारलाई देख्नुहुन्छ। जुन चन्द्रमा तिमीले देखेकी छौ छोरी। त्यो चन्द्रमा मैले कहिल्यै देखेको छैन,’ महेशले भने।

दिपावली विशेष एपिसोडमा आएका एक गेस्टले त मेनुकाको स्वर सुनेर फिल्ममै अफर गर्न समेत भ्याए। मेनुकाको गायकीबाट प्रभावित भएका उनले स्टेजमा गएर अभिनयसँगै गायनको प्रस्ताव राख्दै भने, ‘लामो समयदेखि म एउट फिल्म बनाउने तयारीमा छु। जुन फिल्म ‘लभ एट फस्ट साउन्ड’ को कथावस्तुमा आधारित हुनेछ। जसमा तपाईंले एउटा भूमिका खेल्नुपर्नेछ। गीत समेत गाउनु पर्ने हुन्छ।’

झन् बलिउड अभिनेता रणवीर कपुरले त मेनुकाको गीत सुनेर उनको गोडा नै छोए। गत साताको एपिसोडमा रणवीर इन्डियन  आइडलमा पुगेका थिए। जहाँ मेनुकाले गाएको ‘अगर तुम साथ हो’ गीत सुनेर रणवीर भावुक बने। र, स्टेजमा गएर उनले मेनुकाको खुट्टा समात्दै आशीर्वाद मागे। यो गीत रणवीर र दीपिका पादुकोण अभिनित फिल्म ‘तमासा’ मा समावेश छ।

‘मेनुकाजी मेरो नाम रणवीर कपुर हो। म तपाई‌सँग आशीर्वाद लिन चाहन्छु। जब श्रेयाजीले कुनै मञ्चमा पहिलोपटक गीत गाएकी थिइन्, यस्तै फिलिङ आएको थियो होला। श्रेयाजीलाई देवी भनिन्छ। अहिले हाम्रासामु साक्षात् देवी नम्बर २ उभिएकी छन्,’ उनले भने।

सो भिडिओ यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। नेपाल र भारतसहितका देशका दर्शक मेनुकाको खुलेर तारिफ गरिरहेका छन्।

तर, मेनुकाले भारतीय रियालिटी शोमा तहल्का मञ्चाएको पहिलोपटक भने होइन। पाँच वर्षअघि मेनुकाले भारतीय रियालिटी शो ‘सारेगमप’ मा पनि प्रतिस्पर्धा गरेकी थिइन्। त्यतिखेर लता मंगेशकरको ‘जाने क्या बात है’ गीत गाएकी मेनुकाको राम्रै चर्चा भएको थियो। उनको मनछुने प्रस्तुति हेरेर जजहरुले आँसु झारेका थिए। लगातार राम्रो प्रस्तुति दिए पनि मेनुका टप ११ बाट बाहिरिन्। 

नेपालमा भने मेनुका पौडेल पहिल्यैदेखि परिचित नाम हो। २५ वर्षिया मेनुका झापाको हल्दीबारीमा जन्मेकी हुन्। मेनुकाको संगीतसँग नाता बाल्यकालदेखि नै जोडिएको छ। जन्मजात दृष्टिविहीन मेनुकाको आँखाको उपचारका लागि उनका आमाबुबाले धामीझाँक्रीदेखि अस्पताल चहारे। तर, मेनुकाको आँखामा ज्योति फर्केन।

त्यसपछि चारवर्षकी मेनुकालाई झापाकै जलथलस्थित दुर्गा उच्च माध्यमिक विद्यालयको होस्टेलमा राखियो। त्यही स्कुल र होस्टेलबाट नै सुरु भयो मेनुकाको सांगीतिक यात्रा। संगीतसँग नजिक हुँदै गएकी मेनुकाले हार्मोनियम बजाउन पनि सिकिन्। ६ वर्षको उमेरमा भजन गाएकी थिइन्। साथै उनले स्कुल र बाहिरका कार्यक्रममा समेत प्रस्तुति दिएकी थिइन्।

उमेर बढेसँगै उनको संगीतप्रतिको रुचिको दायरा पनि फराकिलो हुँदै गयो। सुगम संगीत, गजल र रागमा रुचि बढेसँगै मेनुकाले शास्त्रीय संगीत सिक्न थालिन्। गुरु थिए दार्जिलिङ्का अनिल फागो। जो मेनुका पढ्ने स्कुलमा संगीत गुरुको रुपमा आएका थिए। त्यसपछि फागोले दमकमै सुरभि कला केन्द्र खोले। मेनुकाले पढाइ र संगीतलाई सँगसँगै लगिन्।

एसएलसी सकेपछि भने काठमाडौं आइन्। संगीतको औपचारिक अध्ययन गर्ने हुटहुटीसहित काठमाडौं पसेकी मेनुका सुरुवातमा होस्टेलमा बसिन्। उनको गायकी सुनेपछि होस्टेलकी दिदी कुमारी लामाले उनलाई शिव मन्दिरको भजन सन्ध्यामा जोडिदिइन्। मेनुकाले गाएको भजन पनि सबैले मन पराउन थाले। भजन सन्ध्यामै उनको भेट वर्षौदेखि तबला बजाउँदै आएका मञ्जिर चित्रकारसँग भयो। चित्रकारले मेनुकालाई छोरी मानेर आफ्नै घरमा बस्न आग्रह गरे। अनि मेनुकाले पनि त्यतै बस्न थालिन्।

त्यसपछि काठमाडौंसहित भक्तपुरसम्मका भजन मण्डलीमा उनको माग बढदै गयो। र, भजन मण्डली उनको पकेट खर्चको स्रोत पनि बन्यो। २०७२ सालमा मेनुकाले रेडियो नेपालको राष्ट्रिय गायन प्रतियोगितामा भाग लिइन्। र, आधुनिक गीततर्फको पुरस्कार मेनुकाको पोल्टामा पर्‍यो। जसले मेनुकामा आत्मविश्वास र उर्जा थपिदियो।

जसले मेनुकालाई नेपाल आइडलको पहिलो सिजनमा अडिसन दिन प्रेरित गर्‍यो। ‘तिम्रो जस्तो मुटु मेरो पनि’ जस्ता गीत गाएर उनी नेपाल आइडलमा छानिइन्। नेपाल आइडलमा सहभागी भएसँगै मेनुका देशविदेशका नेपालीमाझ चिनिइन्। तर, टप ११ पुगेर उनको नेपाल आइडलसँगको यात्रा टुंगियो।  

प्रायजसो गायकगायिकाहरु रियालिटी शोबाट चर्चामा आएपछि अर्को शोमा भाग लिँदैनन्। तर, मेनुकाले आफ्नो सांगीतिक करिअरमा त्यो आँट गरिन्। साधनासँगै आफूलाई थप माझ्दै लगिन् र, अन्तर्राष्ट्रिय प्लाटफर्ममा प्रतिस्पर्धा गरिन्। मेनुका अहिले दोस्रोपटक चर्चित भारतीय रियालिटी शोको मैदानमा छिन्। इन्डियन आइडलमा लगातार चमत्कारी प्रस्तुति दिइरहेकी छिन्।

548
Shares

©News Kunja 2021-2026. All rights reserved.