प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको सेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको सेयर खरिदबिक्रीमा कर छली भएको दाबी गरे । ‘जुन कम्पनीको वार्षिक ४० अर्ब रुपैयाँभन्दा बढी आम्दानी छ, त्यो कम्पनी साढे छ अर्ब रुपैयाँमा कसरी बिक्री हुन्छ ? यो पत्याउन सकिन्न’, सांसद सिंहले भने ।
सन् २०१६ मा तत्कालीन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत सेयर एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात एक खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो । तर अहिले सोही सेयर पाँच करोड डलर अर्थात् साढे छ अर्ब रुपैयाँमा बिक्री गरिएकोप्रति उनले शङ्का व्यक्त गरे ।