2026/08/24

टुहुरा ४ भाइ: महिनौंसम्म जंगलमा बास , साहारा खोज्दै पुख्र्यौली गाउँमा

Admin
Admin

२०८०-०८-२०

960
Shares
टुहुरा ४ भाइ: महिनौंसम्म जंगलमा बास , साहारा खोज्दै पुख्र्यौली गाउँमा

अछाम –एउटै कोखबाट जन्मेका १४ वर्षीय जया दमाइ , १० वर्षीय राजेश दमाइ र ७ वर्षीय जुम्ल्याह शिव र शंकर दमाइले न आमाको माया पाए न बुवाको साथ । जता गएपनि जेठा दाइ जयाले ३ भाइलाई सँगसँगै डोर्याएर हिंड्न थालेको एक वर्ष हुनै थाल्यो ।

शरिरमा लत्ता कपडा नभएका , खुट्टामा चप्पल नभएका यी चार दाजुभाईका कयौं रात सडकमै सुतेर बितेका छन् । जंगलमा जे पाइन्छ त्यही खाएर जंगलमा कति रात सुते त्यसको हिसाब छैन ।


बाजेका बुवाकै पालामा जयाको परिवार बसाइ सरेर डोटीको बोगटान गाउँपालिका –३ चोनकाँडामा साविकको जनाली बण्डालीबाट बसाइ सरे । उनको पुर्खा अछामबाट बसाइ सरेर गएको चार पुस्ता भइसकेको छ ।  डोटीको दुर्गम गाउँ मानिने चोनकाँडामा जयाका बाजे बस्दै आएका थिए । जयाका बुवाले बिहे गरे । त्यसपछि लगातार चार छोरा भए ।

कान्छा छोरा शिव र शंकर आमाको गर्भमा आएको ६ महिनामा उनका बुवा राम दमाइ कामको खोजीमा भारत गए । त्यसपछि उनी कहिल्यै सम्पर्कमा आएनन् । उनकी आमा मनसराले जुम्ल्याह ७ महिनाका छोरालाई निन्द्रामै छोडर राती नै अर्को बिहे गरेर गइन् । त्यसपछि यी चार भाइलाई उनका बाजेले आफ्नो भत्ताको साहराले पाले । ७ महिनाका २ नातीलाई भातको माड खुवाएर बचाए । 

जब गत फागुनमा उनका बाजेको मृत्यु भयो तब यी चार भाइको विचल्ली भयो ।

बाजेलाई गाउँका मान्छे मिलेर अन्त्यष्टी गरिदिए । बाजेको मृत्युसँगै यी चार भाइको साहारा पनि सकियो । ‘आफ्नो भत्ताले बाजेले हामीलाई पाल्नु भएको थियो । स्कुल पढाउन सक्दैन भनेपछि हामीले पढ्न पनि पाएनौं’ १४ वर्षीय जयाले भने ,‘बाजे मरेको थाहा पाएपछि गाउका मान्छेले अन्त्येष्टी गरिदिए । अर्को दिन त तेरो बाजेले मेरो दश हजार लिएको छ , ५ हजार लिएको छ भनेर घरमा भएका भाडाकँुडा , कुखुरा पनि गाउँका साहु आएर उठाएर लगे । हामीलाई एक छाक खान पनि केही बाकी रहेन ।’ बुवाले मदिराको मातले भएभरको जमिन जग्गा बेचर सकेको उनले बताए ।

‘बाजे मरिसकेपछि हामीसँग केही रहेन । दोस्रो दिनको बिहानै भाइहरुलाई उठाएर जतासम्म पुगिन्छ उतै जान्छु भनेर हिंडे ’ उनले भने ,‘त्यताबाट एक दिन एक रात हिंडेर लयाटी भन्ने गाउँमा पुगे । त्यो दिन जंगलमा बस्यौं । अर्को दिन लोडे भन्ने ठाउँमा पुगेर जंगलमै बस्यौं । राती जंगलमा धेरै डर लाग्थ्यो , त्योबेला तीन भाइलाई काखमा च्यापेर रुँदै बस्थ्यौं । ’


त्यहाँ नजिकै मन्दिर भएकाले चार भाइ मिलेर दिनभरी माग्ने , त्यसको केही किन्ने र साँझ मन्दिरकै पेटीमा सुत्ने गरेको उनले सुनाए । सहरमा मागेर पनि खान पाइन्छ भन्ने सुनेका जयाले सहर भने भेटाउन सकेनन् । जताजता जाँदा पनि भाइहरुलाई डोर्याएर हिंडे ।

पुख्र्यौली घर अछाम भएको जयालाई थाहा थियो । अछाम र डोटीको सिमानामा पर्ने बाडा गाउँकी एक महिलाले आफूहरुलाई अलपत्र अवस्थामा भेटेपछि आफ्नो घर लिएर एक महिना साहारा दिएको उनले बताए । त्यताबाट मेरो मामाघर पत्ता लाग्यो । मामाघरबाट बज्यै आएर आफूसँगै लिएर सोल्टा भन्ने ठाउँमा लिएर जानुभयो ।

तर हामी त्यहा २  रात भन्दा बढी बस्न सकेनौं’ जयाले भने ,‘बज्यैले मामाघर पुर्याएकै भोलिपल्टदेखि बाजेले मलाई र भाइहरुलाई कुट्न सुरु गर्नुभयो । तिमीहरुको घर जता हो उतै जाउँ भनेर रक्सी खाएर कुटेपछि त्यताबाट पनि राती नै भाइहरुलाई लिएर त्यताबाट भागे’ उनले भने ,‘ भाइहरु लिएर भागेको राती त्यता नजिकैको स्कुलमा बस्यौं । पुरख्यौली घर अछामको जनाली हो भन्ने सुनेको थिएँ । त्यता कोही आफन्त होलान्की भनेर ४ रात ४ दिन जंगलको हिंड्दै आएको हँु ।’

बाटोमा हिंडी रहेका बेला कसैले सोध्यो भने आफ्नो अवस्था बताएर खान पाए । राती जंगलको बाटो नाबालक भाइलाई कहाँ जाने हो भन्नेसम्म थाहा नपाएका जयाले अहिले अछाम पुगेर आफ्ना नातेदार पत्तँ लगाएका छन् ।

तर पनि उनले राम्रोसँग खान बस्न पाएका छैनन् ।  चिसो महिनामा जाडोले काँप्दै उनी अहिले सबैसँग सहयोग माग्दै हिंडी रहेका छन् । ‘ गाउँमा बम्बैबाट आएका मान्छेले तेरो बा मरिसक्यो भन्थे , आमा कहाँ गएकी हुन् केही थाहा छैन । एक छाक राम्रोसँग खान नपाएको पनि महिनौ भइसक्यो ।’
मंगलसेन नगरपालिका – ६ मा रहेका आफन्त पत्ता लगाएपछि केही दिनदेखि उनी यतै बसिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका उनका आफन्तले पनि उनीहरुको संरक्षण गर्न सकिरहेका छैनन् ।

यसरी भौंतारिदै आएका बालकहरुको बारेमा थाहा पाएपछि तत्काल वडाबाट खाद्यन्न र नगरपालिकाबाट लत्ता कपडा सहयोग गरेको वडा अध्यक्ष देबेन्द्र भण्डारीले बताए । ‘तत्कालका लागि त राहत उपलब्ध गराएका छौं । उनीहरुलाई पढ्ने , बस्ने र भविष्यको बारेमा के गर्ने भन्ने अन्यौल छ’ उनले भने ,‘उनीहरुको अवस्था देख्दा धेरै दुःख पाएको , खाना बस्न नपाएर भौंतारिरहेको जस्तो देखिन्छ । ’

960
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja