मानव अधिकार उलंघनका घटनाबाट सबैभन्दा धेरै महिला पीडित रहेको एक तथ्यांकले देखाएको छ । इन्सेकद्धारा प्रकाशन हुने नेपाल माव अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशनपूर्वको वार्षिक समिक्षामा घरेलु हिंसा , बलात्कार , बहुविबाह , सम्बन्ध विच्छेदजस्ता धेरै मुद्यामा महिला नै पीडित रहेको तथ्यांक सोमबार एक कार्यक्रममा इन्सेक अछामका प्रतिनिधि तपेन्द्र कुवँरले प्रस्तुत गरे ।
तथ्यांक अनुसार जनावरी २०२३ देखि डिसेम्बरसम्म अछाममा घरेलु हिंसाका ४२ , बलात्कारका ११ , बहुबिवाहका ११ , सम्बन्ध विच्छेदका १३ र राज्य पक्षबाट २ वटा मुद्याबाट मानव अधिकार उलंघन भएका छन् ।
एक वर्षको अवधिमा देखिएका ७९ मुद्यामा अधिकांस महिला नै पिडित भएको उनले बताए । ‘लैंगिक हिंसाका धेरै मुद्या अत्याधिक मदिरा सेवनले पारिवारिक कलह निम्त्याएर घटना घटेका छन् । यी मध्येका धेरै मुद्या परिवारसंग सम्बधीत भएर मिलापत्र नै भएको देखिन्छ ।’ उनले भने ।
जिल्लाभित्र हुने मानव अधिकार तथा महिला अधिकार उलंघनका घटनामा राज्यका निकाय नै जिम्मेवार नभएको नेपाल बार इकाइ अछामका अध्यक्ष कृष्णप्रसाद ढुंगानाले बताए । ‘मानव अधिकारका हरेक घटनामा महला पीडित देखिन्छन् । यसमा पक्ष र विपक्षमात्र नभएर अन्य पक्ष पनि घटना मिलाउनमा दबाब दिन्छन । राज्यका निकायबाट नै पीडितलाई असहयोग भएको देखिन्छ ।’ उनले भने ।
अछाममा ८० प्रतिशतभन्दा बढी महिलाका मुद्या अन्तमा होस्टायल हुने प्रमुख समस्या रहेको सहायक जिल्ला न्यायधिवक्ता खडक खड्काले बताए । ‘ सुरुमा नै बयान फेर्न नहुने , बयान फेरेमा उल्टो कारबाही हुने कुरा जानकारी गराएका नै हुन्छौं । तर अन्तमा अदालत पुगेर बकपत्रमा बयान फेर्न समस्या धेरै छ’ उनले भने ,‘ पीडक पक्षले आर्थिक प्रलोभन देखाउने , समाजको डर देखाएर पीडितलाई प्रभावमा पार्ने जस्ता धेरै कारणले अन्तमा मुद्या होस्टायल हुन्छन् ।’