धनगढीः कैलालीको धनगढीमा प्राकृतिक तालहरुको संभाव्यता अध्ययन गर्न सम्झौता भएको छ।
पहिचान भएका तालहरुको सम्भाव्यता अध्ययन गर्न परामर्श दाता कम्पनी इन्टीग्रेट अर्थ सिस्टम कन्सल्ट प्रालि काठमाडौंसँग सम्झौता भएको हो। धनगढीमा प्रत्येक वर्षका बैशाख जेठ महिनामा भुमिगत जलको सतह घटेर नल तथा बोरिङमा पानी नआउने समस्या बढदै गएको छ। भविष्यमा पानीको कोकाकुल हुन नदिन उप–महानगरपालिकाले १९ वटै वडा क्षेत्रमा रहेका सार्वजनिक तालतलैयाको खोजी गरेको हो।
ती तालहरुको अतिक्रमण हटाएर ताल–तलैयालाई पुनः कायम राखी पुनरभरण गर्ने कार्यको थालनी भएको छ। हाल धनगढी उप–महानगर क्षेत्रभित्र ८३ वटा सार्वजनिक ताल–तलैयाको खोजी गरिएको छ। तीमध्ये ७ वटा तालको अतिक्रमण हटाइएको छ। बाँकी तालहरुको पनि अतिक्रमण हटाउने काम जारी छ।
धनगढी उप–महानगरपालिका र त्रिभुवन विश्वविद्यालयका भूमीगत पानी पुनरभरण सम्बन्धीका विज्ञ प्राध्यापक डाक्टर मोति रिजालको उपस्थितिमा उपमहानगरपालिकाका जनप्रतिनिधि र प्राविधिकहरूसँगको एक दिने कार्यशालापछि प्राकृतिक तालहरुको सम्भाव्यता अध्ययन गर्ने परामर्श दाता कम्पनी इन्टीग्रेट अर्थ सिस्टम कन्सल्ट प्रालि काठमाडौंसँग सम्झौता गरिएको छ।