2026/07/30

निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से

Admin
Admin

२०८०-०९-११

579
Shares
निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से

नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन घटेर बन्द भएको छ। गत साताको बिहीबारदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक १७.२३ अंक घटेर २०७०.८४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.२५ अंक र फ्लोट इण्डेक्स ०.४३ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको १ लाख १७ हजार ४७६ पटकको कारोबारमा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ्ग, चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग, भिजन लुम्बिनी उर्जा र मुक्तिनाथ कृषि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन बिपिडब्लु लघुवित्त र हिमालयन हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको साढे १८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सूर्या ज्योति लाइफ इन्स्योरेन्स र हाथवे इन्भेष्टमेन्टको १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

579
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja