2026/05/01

सुदूरपश्चिममा ‘पुसे पन्ध्र’ पर्व मनाइँदै : यस्तो छ पर्वको महत्व

Admin

२०८०-०९-१५

419
Shares

अछाम- सुदूरपश्चिम प्रदेशमा आज पुसे पन्ध्र पर्व मनाइँदै छ । हरेक वर्ष पुस १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिएको छ ।

ठूली रातका रूपमा समेत मनाइने पुसे पन्ध्रका अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन छ । यद्यपि सुदूरपश्चिमका पहाडी भूभागबाट तराइ झरेकाहरूमा भने बिस्तारै यो पर्वको मौलिकता कम हुँदै गएको छ ।

यस्तो छ पुसे १५ पर्वको महत्व

सुदूरपश्चिमका जिल्लाहरूमा बुधबार ‘पुसे पन्ध्र’ पर्व मनाईँदैछ । हरेक वर्ष पुस १५ गते गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ ।

पुस १५ का दिन विशेषगरी तरुल, सखरखण्ड, फर्सी, पिँडालु लगाएतका माटोमुनी पउम्रिने चिजहरुलाई उसिनेर खाने चलन रहेको छ । यी पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फुर्ति, तागत बढ्ने किम्वदन्ती छ । यो दिन वनको पूजा गर्ने चलन छ । यो दिन यस क्षेत्रका मानिसले वनजंगलमा काम नगर्ने र बञ्चरो, हँसियाँ, वनारो घाँसपात, दाउरा बान्ने डोरी आदिको पनि पूजा गर्छन् । ग्रामीण क्षेत्रका बासिन्दा घरमा लगाएको जंगलमा पाईने तरुल खनेर उसिनेर खान्छन् । आज तरुल खानैपर्ने मान्यताअनुरूप सहरी क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गर्दछ ।

पूर्वजका पालाका पौराणिक कथाहरुलाई एक पिढीबाट अर्को पिढीमा सम्झिदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउदै यो पर्व मनाउदै आईएको छ । पुर्वजका पाला देखि चल्दै आएका चाडपर्वहरु र यी चाडपर्वहरु मनाउने तिथि मितिलाई मनन गर्दा मान्छेले फुर्सदको समयमा मनोरन्जन लिने र दिने सोचका साथ तय गरेको पाईन्छ । यसरी फुर्सदको समयमा मनाइने तिनै चाडपर्वहरु अन्तर्गतको एउटा पर्व हो पुष पन्ध्र अर्थात पुसे पन्ध्र । गहुँ छरिसके पछि गाउँघरतिर पूर्ण फुर्सदिलो महिनाको रुपमा हेर्न सकिन्छ पुस महिनालाई । पुसपन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वको रुपमा पनि अर्थाइएको पाइन्छ ।

सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रलाई स्वतन्त्रताको प्रतीका रुपमा लिन सकिने साहित्यकार हेमन्त विवस बताउँनु हुन्छ । उहाँले भने,‘पुसे पन्ध्र जुन सदियौदेखि चल्दै आएको पर्व हो । जहाँ केटाकेटीहरु देखि बुढापकाहरुसम्मले मनोरञ्जन लिने गर्दछन् । समाजशास्त्रीय आँखाले हेर्ने हो भने यो पर्वलाई सामाजिक सद्भाव बढाउने अपनत्वको आभाष दिलाउने र नैतिकताको पाठ सिकाउने महत्वपूर्ण पाटोको रुपमा लिन सकिन्छ ।’

घरघरबाट बिभिन्न परिकार बनाउन सामग्री लगेर एक ठाउँमा जम्मा भई पकाउने बाडिचुडि खाने जुन चलन छ यसले थोरै मात्रामा भए पनि नजान्नेलाई परिकार पकाउन प्रोत्साहित गर्ने गर्दछ । एउटा जिज्ञाषापूर्ण पलको सिर्जना गर्दछ । सहयोगी भावना र आफुभन्दा ठुलाप्रतिको आदरका साथै समूहमा घुलमिल हँुदा लजालु पन र संकुचित भावनालाई निरुत्साहित गर्न समेत सघाउ पु¥याउँछ ।

रातभर बिभिन्न पौराणिक र लोक कथाहरु, गाउँखाने कथाहरु सुन्ने सुनाउने साथै गीत संगीतको समेत भरपुर आनन्द लिने पर्वका रुपमा हेर्न सकिन्छ पुसपन्ध्रलाई । जसले युवा युवतीहरुमा सिर्जनात्मक कलाको समेत बिकास गर्ने र भावी दिनमा समेत सिर्जनशील जिन्दगी जीउन सघाउ पु¥याउँछ । यो पर्व स्वतन्त्रताको प्रतीक पनि हो ।

पुस पन्ध्रको रातमा आमाबुवाको डर अथवा अन्य कसैप्रतिको संकोच रहदैन । सुरुसुरुमा केटाकेटीहरु सँगै मनाउथे पुस पन्ध्रलाई । गाउँभन्दा टाढा एकान्त स्थलमा गएर शालिन र भद्र ढंगले रमाउने चलन थियो । पछिल्ला दिनहरुमा यो पर्व मात्र औपचारिकता निभाउने ढंगले मनाइदैछ । बिभिन्न बिक्रितिका कारण केटाकेटीहरु छुट्टाछुट्टै समूहमा मनाइरहेका छन । गाउँमै कसैको घरमा जम्मा भएर मनाइरहेका छन् । बिस्तारै यो लोप हुने गोरेटोतिर गइरहेको छ ।

पुसपन्ध्रलाई कतिपय विद्वान्हरुले मानव संस्कृति र सभ्यताको अभिन्न अङ्गका रुपमा ब्याख्या गरेको पाइन्छ । शालीन र भद्रढंगले डेउडा खेलमा सवाल जवाफहरु समेत हुन्छन यो पर्वमा । अगणित कालदेखि नै महिला पुरुषसँगै डेउडा खेल खेल्दै आइरहेका छन् जसका लागि राज्यमा कुनै प्रजातन्त्र वा लोकतन्त्रको आगमनको बाटो कुर्नु परेन ती महिलाहरुले । जुन आफैमा एउटा प्रजातान्त्रीक पद्धति हो ।

419
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.