2026/04/29

प्रधानमन्त्री कप क्रिकेट : कैलालीसँग बझाङ पराजित

Admin

२०८०-०९-१९

502
Shares

प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत इलाइट च्याम्पियनसिपमा कैलालीले दोस्रो जित निकालेको छ । 

दोस्रो जित दर्ता गर्ने क्रममा कैलालीले बझाङलाई एक सय छ रनले हरायो । जितका लागि पाएको दुई सय १२ रनको लक्ष्य पछ्याएको बझाङ २६ दशमलव पाँच ओभरमा एक सय छ रनमा समेटियो । 

त्यसमा किरन कार्कीले सर्वाधिक ३९ रन बनाए पनि हार भने टार्न सकेनन् । कैलालीका प्रकाश सुनारले तीन, धर्म जोशी र डमेर सुनारले २–२ विकेट हात पारे । यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरु हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरु हुँदा ३५ ओभरमा झारिएको थियो । 

टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले ३५ ओभरमा छ विकेटको क्षतिमा दुई सय ११ रन बनायो । कैलालीका ओपनर टेक रावतले अर्धशतकीय पारी खेल्दै ९१ रन बनाए । बझाङका अशोक धामीले दुई विकेट लिए । कैलालीका टेक रावत म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिए । 
 

योसँगै कैलालीले तीन खेलमध्ये दुईमा जित निकाल्दै चार अंक जोड्दै फाइनलको सम्भावना जीवितै राखेको छ । लगातार तेस्रो हार व्यहोरेको बझाङ भने प्रतियोगिताबाट बाहिरिएको छ । कैलालीले अब अन्तिम खेल आइतबार बैतडीसँग खेल्नेछ । 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा यही पुस १४ गतेदेखि सुरु भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।

502
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.