2026/06/13

स्वास्थ्य बिमा गरेकाले दश प्रतिशत रकम मात्र तिर्नुपर्ने

Admin

२०८०-१०-०१

562
Shares

काठमाडौँ , 

आजदेखि स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बिमितले उपचार खर्चबापत १० प्रतिशत रकम मात्र (सहभुक्तानी) तिर्नुपर्ने हुन्छ।

बोर्डले आजदेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बिमित बिरामी आफैंले तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बर्सौलाले जानकारी दिए।

यसअघि बोर्डमा आबद्ध भएकाले कुनै पनि बिमितले उपचार गरेबापत खर्च तिर्नु पर्दैनथ्यो। पाँचजना परिवारसम्म सदस्य भएका परिवारले वार्षिक तीन हजार पाँच सयको योगदान रकम तिरी एक लाखसम्मको सुविधा लिन सक्ने व्यवस्था रहेको छ। उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्न परीक्षणका रुपमा सहभुक्तानी प्रणाली लागू गरिएको बताए।

‘बिमितले अनावश्यक रुपमा चिकित्सकलाई दबाब दिएर स्वास्थ्य परीक्षण गराउन थाले’, उनले भने, ‘त्यसलाई निरुत्साहित गर्नका लागि आवश्यक मात्र स्वास्थ्य परीक्षण गराउन भनेर बिरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेका हाैं।’ उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र र २५ शय्यासम्मका अस्पतालमा गरिएको स्वास्थ्योपचारमा भने बिमितले १० प्रतिशत रकम तिर्नुपर्ने छैन।

सहभुक्तनी प्रणाली संघीय अस्पताल, २५ शय्याभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल र सबै निजी तथा सामुदायिक अस्पतालमा लागू हुनेछ। अहिलेसम्म कुल ७४ लाख ६६ हजार सातजना बिमा आबद्ध रहेको र तीमध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बिमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएको बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिए। उनका अनुसार अहिले सक्रिय बिमित ४८ लाख ५९ हजार पाँच सय १५ जना रहेका छन्।

यस्तै अति गरिब, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अति असक्त, एचआइभी सङ्क्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकालाई भने सहभुक्तानी प्रणाली (१० प्रतिशत रकम तिनुपर्ने) लागू नगरिने कार्यविधिमा उल्लेख गरिएको छ। –रासस

562
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.