2026/04/29

प्रधानमन्त्री कप : कीर्तिपुरमा तीन दिन लगातार तीन शतक

Admin

२०८०-१०-०१

557
Shares

काठमाडौं । शनिबारबाट सुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा आज त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक प्रहार गरे। जारी प्रतियोगितामा यो तेस्रो शतक हो। प्रतियोगिता सुरु भएकै दिनबाट हरेक दिन एक शतक प्रहार हुँदै आएको छ।

प्रतियोगिता त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान, मूलपानी क्रिकेट मैदान र सिद्धार्थनगर क्रिकेट मैदानमा भइरहेको छ। तीनवटै शतक भने त्रिवि क्रिकेट मैदानमा बनेका हुन्।

पहिलो दिन राशिदको शतक

प्रतियोगिताको उद्घाटन खेलमा शनिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबका राशिद खानले शतक प्रहार गरे। टस जितेर ब्याटिङ उत्रिँदा १६.३ ओभरमा ५ विकेट गुमाएर ७२ रन बनाउँदै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको पुलिस संकटमा परिसकेको थियो।

तर, सातौं नम्बरमा आएर शतकीय इनिङ्स खेल्दै राशिदले पुलिसको स्कोर २८२ रन बनाउन महत्वपूर्ण भूमिका खेले। उनी ११२ बलमा ९ चौका र ६ छक्काको सहायतामा १०६ रनमा अविजित रहे। खेल पुलिसले जित्दा उनी म्यान अफ दी म्याच बने।

दोस्रो दिन जोराको शतक

दोस्रो दिन सुन्दिप जोराले शतक प्रहार गरे। राशिद खानको जस्तै कोल्याप्स्ड हुन लागेको एपीएफको ब्याटिङलाई सम्हाल्दै जोराले टोलीलाई राम्रो स्कोरसम्म डोहोर्‍याएका थिए।

बागमतीविरुद्धको खेलमा एपीएफ १२.४ ओभरमा ५ विकेट गुमाउँदै ४१ रनको स्कोरमा संघर्ष गरिरहेको थियो। यस्तो परिस्थितिमा जोराले ११७ बलमा ७ चौका र ५ छक्काको सहायतामा ११२ रन बनाए। उनकै शतकको दममा एपीएफले स्कोर बोर्डमा २४१ रन बनाएको थियो।

यो खेल एपीएफले ८९ रनले जितेको थियो। जसमा म्यान अफ दी म्याच जोरा नै बने।

तेस्रो दिन भण्डारीको शतक

जारी प्रधानमन्त्री कपमा एकै इन्निङ्समा धेरै रन बनाउने खेलाडी हुन् : विनोद भण्डारी। त्रिभुवन आर्मी क्लबका कप्तान भण्डारीले सोमबार मधेश प्रदेशविरुद्ध शतक प्रहार गरे।

उनले ९३ बलमा ९ चौका र ६ छक्काको सहायतामा ११३ रन बनाएका हुन्। प्रधानमन्त्री कपमा उनको यो व्यक्तिगत दोस्रो शतक हो।

भण्डारीको शतकमा आर्मीले मधेश सामू ३२० रनको विशाल स्कोर खडा गर्न सफल हुँदै १२६ रनको विशाल जित सुरक्षित गर्‍यो।

557
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.