2026/07/29

जिल्ला दौडाहामा सिटौला, भोजपुरमा भने : कोशीमा पहिचानको मुद्दा सम्बोधन हुन्छ

Admin
Admin

२०८०-१०-०३

587
Shares
जिल्ला दौडाहामा सिटौला, भोजपुरमा भने : कोशीमा पहिचानको मुद्दा सम्बोधन हुन्छ

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट अन्य समूहका उम्मेदवार कृष्ण सिटौला मतदाता फकाउन जिल्ला दौडाहामा छन्। 

नेपाली कांग्रेसका पू्र्वमहामन्त्री सिटौला सत्ता गठबन्धनका मतदाता फकाउँदै बुधबार भोजपुर पुगेका हुन्। उनले भोजपुरमा सत्ता गठबन्धनका नेता र जनप्रतिनिधिहरूलाई फकाउँदै पहिचानको मुद्दा चाँडै सम्बोधन हुने बताए। 
 

लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले कोशी प्रदेशमा उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने विश्वास दिलाए। 

‘यति ठूलो सङ्घर्ष र द्वन्द्व त समाधान भयो। पहिचानको मुद्दामा समाधान खोज्न आपसी समझदारी र छलफल आवश्यक छ’, उनले भने, ‘माघ ११ गतेको निर्वाचनपछि राष्ट्रियसभाले पूर्णता पाउने छ। पूर्णता पाएसँगै पहिचानको मुद्दामाथि छलफल सुरु भई समाधान निकाल्ने छौँ।’ 

सिटौलाले संविधान र जनताका पक्षमा काम गर्ने दलका नेताहरूलाई राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आग्रह पनि गरे। ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएको गठबन्धनका दललाई मत दिनुस्’, सिटौलाले भोजपुरमा भने। 

सिटौला गठबन्धनका कारण सुरक्षित भए पनि कोशी प्रदेश यात्रामा छन्। बुधबारसम्म उनले ११ जिल्लाका मतदाता भेटिसकेका छन्। मोरङका जनप्रतिनिधिसँगको संवादसँगै उनले कोशीका सबै जिल्लाको दौडाहा थालेका थिए। 

बुधबारसम्म सिटौलाले मोरङ, झापा, सुनसरी, उदयपुर, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरका जनप्रतिनिधिलाई भेटेर फकाइसकेका छन्। उनी बुधबार नै भोजपुरबाट खोटाङ तरेका छन्। 

उनले खोटाङबाट ओखलढुंगा र सोलुखुम्बु पुग्ने योजना छ। ती जिल्लाको पनि भेटघाट सकेर उनी तीन दिनमा विराटनगर झर्ने छन्। 

कोशीमा सत्ता गठबन्धनको साथ पाएकाले सिटौला करिब सुरक्षित छन्। तर तलबितल पर्न नदिन उनले जिल्ला दौडाहाा गरेका हुन्। 

कोशीबाट राष्ट्रियसभाका लागि नेकपा एमालेका परशुराम अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेल प्रतिस्पर्धामा छन्। 

अन्य प्रदेशको तुलनामा कोशीमा गठबन्धन र अन्य दलबीचको मतभार अन्तर झिनो छ। प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन्। प्रतिसांसद ५३ मतभार तय भएकोले गठबन्धनको कुल मतभार २,४९१ छ। 

यसैगरी, स्थानीय तहमा कांग्रेसका ११५, माओवादीका ३१, एकीकृत समाजवादीका ७ र जसपाका ४ जना अध्यक्ष-उपाध्यक्ष, प्रमुख-उपप्रमुख छन्।  

यसमा कांग्रेसको दुई हजार १८५, माओवादीको ५८९,  एकीकृत समाजवादीको १३३, जसपाको ७६ मतभार छ।

प्रदेश सभा र स्थानीय तह दुवैतर्फ गठबन्धनको कुल  मतभार ५,४७४ छ। यसअघि दुई पटक प्रतिनिधिसभामा झापा २ बाट पराजित सिटौला अहिले कुनै नाटकीय परिवर्तन नभए जित्ने निश्चित छ।

झापा क्षेत्र नम्बर ३ मा २०७४ र २०७९ दुवै पटक राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजय भोगेपछि सिटौलाको राजनीतिक करिअर करिब सकिएको अनुमान थियो।

तर सत्ता गठबन्धनको बलमा राष्ट्रिय सभामा प्रवेश गर्न सकेन तत्काललाई सिटौलाको राजनीतिक भविष्य सुरक्षित हुनेछ। 

587
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja