2026/07/28

वित्तीय क्षेत्र सर्वेक्षण गर्दै राष्ट्र बैंक, बिमा र रियल सेक्टर पनि समावेश

Admin
Admin

२०८०-१०-०४

585
Shares
वित्तीय क्षेत्र सर्वेक्षण गर्दै राष्ट्र बैंक, बिमा र रियल सेक्टर पनि समावेश

काठमाडौं। नेपाल राष्ट्र बैंकले नेपालको सम्पूर्ण वित्तीय क्षेत्रको सर्वेक्षण गर्ने भएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासँगै बिमा कम्पनी, रियल सेक्टरलगायतलाई समेत समावेश गरी बृहत् सर्वेक्षण गर्न लागेको हो। 

यसका लागि राष्ट्र बैंकले बिमा क्षेत्रका नियामक निकाय र सम्बद्ध कम्पनी, पुँजी बजार क्षेत्रको नियामक निकाय, निक्षेप तथा कर्जा सुरक्षण कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष लगायतका सरोकारवालासँग छलफल गरेको छ।

वित्तीय सर्वेक्षणको आवश्यकता र सहभागिताको पाटोमा सम्बन्धित निकाय र संस्थाको दायित्वबारे कार्यक्रममा छलफल भएको थियो। 

राष्ट्र बैंकले २०१७ देखि मौद्रिक सर्वेक्षण गर्दै आएको छ। यसका लागि तथ्यांक आवश्यक भएमा सम्बन्धित क्षेत्रको नियामक निकायसँग समन्वय गरी विवरण माग गर्दै आएको छ। देशको आर्थिक सूचकांकबारे उक्त सर्वेक्षणले मात्रै यथार्थ नदेखाउने भएपछि राष्ट्र बैंकले वित्तीय क्षेत्र सर्वेक्षण गर्न लागेको हो। 

नेपालमा बैंक तथा वित्तीय क्षेत्रबाहेक पनि वित्तीय व्यवसाय गर्ने संस्थालाई पनि समावेश गर्ने गरी देशको वर्तमान आर्थिक अवस्थाका सूचकांक तयार गर्ने गरी राष्ट्र बैंकले आवश्यक तयारी अघि बढाएको छ। हालसम्म राष्ट्र बैंकले गर्ने मौद्रिक सर्वेक्षणमा बैंक तथा वित्तीय संस्थाको तथ्यांक वा सहभागिता गराउनुपर्दा प्रत्यक्ष गराइने गरिएको थियो।

सोही प्रकारले अन्य क्षेत्रका वित्तीय व्यवसाय गर्ने संस्थालाई पनि सहभागी गराउने गरी ‘फाइनान्सियल कर्पोरेसन सर्वे’ वित्तीय सर्वेक्षणमा गर्न लागिएको हो। 

वित्तीय सर्वेक्षणमा बैंक तथा वित्तीय संस्थासँगै नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष बिमा कम्पनी, धितोपत्र बोर्डअन्तर्गतका निक्षेप तथा कर्जासम्बन्धी काम गर्ने कम्पनी समावेश हुनेछन्।

यी कम्पनीले राष्ट्र बैंककै निर्देशनमा माग गरिएका सबै तथ्यांक सोझै पठाउनुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ। 

राष्ट्र बैंकले सञ्चालन अनुमति दिएबाहेक पनि निक्षेप तथा कर्जासम्बन्धी काम गर्ने अन्य संस्थालाई पनि उक्त सर्वेक्षणमा सहभागी गराउने गरी तथ्यांक उपलब्ध गराउने सम्झौता बिहीबार भएको  छ।

सम्झौताअनुसार सरोकारवाला निकाय तथा संस्थाले राष्ट्र बैंकलाई तथ्यांक नियमित सम्प्रेषण गराउनेछन्।  सम्बद्ध निकाय तथा संघ–संस्थाले राष्ट्र बैंकमा पठाउने तथ्यांकको सुनिश्चतता, नियमितता र  शुद्धताको प्रतिबद्धता गरेका छन्। 

राष्ट्र बैंकले आगामी दिनमा गर्ने वित्तीय सर्वेक्षण प्रतिवेदन अन्तर्राष्ट्रिय मुद्रा कोषको अध्ययनमा समेत सहयोग तथा सहभागिता गराउने गरी तयारी अघि बढाइएको हो। साथै, अन्तर्राष्ट्रिय स्तरमा नेपालको आर्थिक अवस्थाको विश्लेषणसमेत गरी वित्तीय सर्वेक्षणको प्रतिवेदन आधिकारिक बनाउने काम अघि बढाइएको राष्ट्र बैंकले जनाएको छ। 

सोहीअनुसार अब बिमा कम्पनी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र पुँजी बजारमा आएका सम्पूर्ण रियल सेक्टरका कम्पनीले पनि राष्ट्र बैंकले माग गरेको तथ्यांक नियमित रुपमा उपलब्ध गराउनेछ।

राष्ट्र बैंकको सर्वेक्षणमा सहभागी हुने संघ–संस्थाले समयमै लेखापरीक्षण गराउने, नियमनकारी निकायको नीति निर्देशन पालना गरेकोलगायत पारदर्शिता हुनुपनेछ।  

सोही तथ्यांकको आधारमा वित्तीय सर्वेक्षण गरी राष्ट्र बैंकले मासिक रुपमा देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको सूचकांकसहितको प्रतिवेदन सार्वजनिक गर्नेछ। राष्ट्र बैंकले भविष्यमा ठूला सहकारी संस्थालाई समेत वित्तीय सर्वेक्षणमा सहभागी गराई प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ।

585
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja