अछाम — वडामा आउने बाहिरी आगन्तुकलाई झट्ट लाग्न सक्छ, टाउकोमा सेतो पगरी बाँधेर रातो ठाडो टीका लगाएर वडाध्यक्षको कुर्सीमा को धामी बसिरहेको छ ? यस्तो प्रश्न नसोझियोस् पनि किन, तुर्माखाँद गाउँपालिका–४ का वडाध्यक्ष ३२ वर्षीय पदम बीसी स्थानीय बन्डाली देवताका मूल धामीसमेत हुन् । धामी भएर के भो र ∕ तन्नेरी वडाध्यक्ष बीसी परम्पराका रूपमा यो संस्कृतिलाई धान्दै अन्धविश्वास र कुरीतिसँग लडिरहेका छन् ।
देवताका विभिन्न नाममध्येको सुदूर र कर्णालीका धेरै ठाउँमा मानिने देवता हुन्, बन्डाली । विभिन्न थान, मन्दिरमा यी देवता पुजिन्छन् भने घरको सबैभन्दा माथिल्लो तलामा धामी बस्दा देवता निकाल्ने मान्डो (धामीले देवता निकाल्ने ठाउँ) हुन्छ । बीसीका अनुसार देवता–देवताबीच पनि नाता र सम्बन्ध हुन्छ । बन्डाली र मस्टो देवताका दुई भाइ हुन् । तीमध्ये जेठो बन्डाली फैलिएर १२ भाइमा पुग्यो भने १८ भाइ मस्टाका छन् । सुदूरपश्चिम र कर्णालीका धेरै ठाउँमा बन्डालीलाई मुख्य देवताका रूपमा मान्ने चलन छ । तिनै बन्डाली देवताका मूल धामी हुन्– बीसी ।
१६ वर्षकै उमेरमा बन्डाली देवताका मूल धामी भएका वडाध्यक्ष बीसीले टाउकोमा सेतो पगरी बाँधी रहनुपर्छ । ०६४ मा एसएलसी पास गरेपछि उनी सामुदायिक स्वास्थ्य सहयोगी (सीएमए) पढ्न कैलालीको टीकापुर पुगेका थिए । टाउकोमा पगरी बाँधेर कक्षाकोठामा जान थालेपछि केही साथीहरू जिस्क्याउँथे । सबैको हाँसोको पात्र बनिने भयले पढाइ नै छोडेर अछाम फर्किए । सदरमुकाम मंगलसेनबाट प्लस टु र स्नातक अध्ययन सकेपछि उनी गाउँ फर्केर राजनीतिमा लागे ।
गत स्थानीय तह निर्वाचनमा माओवादीका तर्फबाट तुर्माखाँद–४ को वडाध्यक्ष उम्मेदवार बनेपछि बीसीको दिनचर्या बदलिएको हो । अचेल उनी दिनभर वडाको काममा व्यस्त हुन्छन् भने साँझमा साइत मिलेअनुसार धामी बस्छन् । कुरीति, कुसंस्कार र कुप्रथाको जड नै धामीझाँक्रीलाई मान्ने समाजमा उनी युवा पुस्तामाझ आधुनिक धामीका रूपमा चिनिएका छन् ।
धामी भए पनि बीसी परम्पराजन्य केही कुरामा स्पष्ट छन् । ‘भर्खरको बालक केटो बन्डाली देवताको मूल धामी भएपछि संस्कार जोगाउन सक्छ कि नाइँ भन्ने मेरो समुदायलाई ठूलो पीर थियो,’ उनले भने, ‘मूल धामी भएर पुर्खाले मान्दै आएको संस्कार जोगाउनुपर्छ भन्ने मेरो कर्तव्य नै थियो । तर यसभित्र लुकेका केही विभेद र कुप्रथालाई धामी भएर अँगाल्नुपर्छ भन्ने कुराको म पहिलेदेखि नै विरोधी थिएँ ।’
उनका अनुसार ०६७ सालमा बन्डाली देवताको मूल मन्दिरमा दलित समुदायलाई पनि प्रवेश गर्न दिनुपर्छ भनेर आफ्नै समुदाय (गैरदलित) सँग उनले बहस गरे । त्यतिखेर समाज एकातिर भयो भने उनी अर्कोतिर ।
‘बन्डाली देवताको मूल धामीले नै दलितलाई पनि मूल मन्दिरमा जान दिनुपर्छ भनेपछि गाउँमा खैलाबैला भयो । बन्डालीको धामी होइन, दलितको धामी भयो भनेर ममाथि आक्षेप लगाइयो, समाजले बहिष्कार गर्नेसम्मको अवस्थामा पुगें,’ बीसी भन्छन्, ‘के विश्वास हो, के अन्धविश्वास हो भन्नेमा म प्रस्ट थिएँ । दलित समुदायले पनि मन्दिरमा जानु पाउनुपर्छ, कसैको घरमा केही अनिष्ट हुन्छ भने त्यसको सबै जिम्मेवारी म लिन्छु भनेर आफ्नो अडानमा बसें । अन्त्यमा सबैले कुरा बुझे ।’ उनका अनुसार अहिले मूल मन्दिरमा दलित र गैरदलित सबैले जान पाउने भएका छन् ।
०६७ सालमा साविक तुर्माखाँद गाविसलाई छाउगोठमुक्त अभियान सञ्चालन भएका बेला त्यसको मुख्य अभियन्ता नै आफू भएको बीसी बताउँछन् । ‘जता पनि छाउपडी कुप्रथा भन्नेबित्तिकै धामीझाँक्री र देवताले गर्दा नै गोठमा बस्नुपरेको हो भन्ने सुन्छु । कुनै पनि देवताले महिलालाई दुःख दिने नियत राख्दैन । यो पनि गलत हो भनेर मेरी श्रीमती, बहिनीलाई करिब तेह्र वर्ष अगाडिदेखि नै घरमा राख्न सुरु गरेको हुँ,’ उनले भने, ‘म त धर्म संस्कारको संरक्षण गर्दै कुरीति र कुसंस्कारको अन्त्य गर्ने नयाँ पुस्ताको धामी हुँ ।’
धामी भएकाले आफूले बार्नैपर्ने कुरा भने बारिरहेको उनले बताए । ‘अरूले पकाएको भात खान मिल्दैन, कोदो, भटमास, कुखुरा र मदिरा पनि खानै नमिल्ने हुन्छ । यी केही नियम नै हुन्,’ उनले भने, ‘टाउकोमा बाँधेको पगरी खोल्न मिल्दैन, जता जाँदा पनि बाँधेरै हिँड्छु ।’ उनी माओवादी केन्द्रीय कार्यक्रमदेखि जनप्रतिनिधिका रूपमा उपस्थिति हुने सार्वजनिक कार्यक्रममा पगरी गुथेरै उपस्थिति जनाउँछन् । कतिपयले उनलाई कम्युनिस्ट नेता पनि धामी बनेको भनेर प्रश्न गर्छन् । उनले सबैलाई भन्ने गरेका छन्, ‘धर्म, रीतिरिवाज, संस्कृति र राजनीतिक आस्था फरक–फरक कुरा हुन् ।’