लामो प्रतीक्षालाई तोड्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब अन्तत: पहिलोपल्ट आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ । पाँचपल्टको विजेता थ्रीस्टार क्लबलाई पोखरामा शनिबार फाइनलमा ३-० ले पराजित गर्दै आर्मीले उपाधिविहीनताको अवस्थालाई टुंग्याएको हो ।
आर्मीको जितका लागि जिलेप्सीजंग कार्कीले ३८ औं मिनेट, फत्तेमान घलेले ८३ औं मिनेट र वसन्त जिम्बाले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे ।
यसअघि २०७५ मा थ्रीस्टारले आर्मीलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेको थियो । त्यतिबेला थ्रीस्टारको प्रशिक्षक रहेका मेघराज केसीले नै हाल आर्मीलाई सम्हाल्दै उपाधि दिलाएका हुन् ।
२३ औं आहा रारा गोल्डकपको उपाधिसँगै आर्मीले १२ लाख र उपविजेता थ्रीस्टारले ६ लाख रूपैयाँ प्राप्त गरेका छन् ।