2026/07/29

२३ खर्ब ८३ अर्ब पुग्यो सरकारको ऋण, बजेटभन्दा धेरै

Admin
Admin

२०८०-११-०१

613
Shares
२३ खर्ब ८३ अर्ब पुग्यो सरकारको ऋण, बजेटभन्दा धेरै

नेपाल सरकारको ऋण दायित्व निकै धेरै देखिएको छ। 

संघीय सरकारको एक वर्षको बजेट कार्यक्रमको खर्च अनुमानभन्दा ऋण भुक्तानी गर्नुपर्ने दायित्व निकै बढी देखिएको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पुस मसान्तसम्म  सरकारको ऋण दायित्व २३ खर्ब ८३ अर्ब ७७ करोड रुपैयाँबराबर छ। 

ऋण दायित्वमा आधा हाराहारी हिस्सा बाह्य ऋणको छ भने आधा आन्तरिक ऋण छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार विदेशी द्विपक्षीय तथा बहुपक्षीय निकायको ऋण दायित्व ११ खर्ब ८५ अर्ब रुपैयाँ छ।  त्यस्तै आन्तरिकतर्फको ऋण भने ११ खर्ब ९८ अर्ब रुपैयाँ देखिएको छ।

यस्तो ऋणको सावाँ र भुक्तानीमा नेपाल सरकारको ठूलो बजेट वित्तीय व्यवस्थापनमार्फत खर्च हुने गरेको हो। 

अब हरेक वर्ष ३ खर्बभन्दा बढी रकम यसमा नै छुट्याउनुपर्ने भएको छ। यो आर्थिक वर्षमा नै सरकारले ३ खर्ब ७ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनको लागि नै भनेर छुट्याएको छ।

सोही विनियोजित बजेटअनुसार चालू आर्थिक वर्षको ६ महिना अवधिमा सरकारले १ खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ भुक्तानी गरेको हो। जसमा ७७ अर्ब ४५ करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ। 

उक्त अवधिमा ३९ अर्ब १२ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउन महिनामा नेपाल सरकारले २७ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी गरेको छ। साउनमा सावाँ २३ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरेको छ भने ब्याज ४ अर्ब ४३ करोड रुपैयाँ भुक्तानी गरेको हो। 

त्यसैगरी भदौ महिनामा २० अर्ब १२ करोड रुपैयाँ ऋण भुक्तानी गरिएको छ। जसमा सावाँ १४ अर्ब १६ करोड रुपैयाँ र ५ अर्ब ९६ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको हो।

असोज महिनामा १९ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी भएको छ। जसमा १ अर्ब ४० करोड सावाँ र ५ अर्ब ७९ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको हो। 

कात्तिक महिनामा १३ अर्ब ९४ करोड रुपैयाँ भुक्तानी भएको छ। जसमा ३ अर्ब ९७ करोड रुपैयाँ सावाँ र ९ अर्ब ९७ करोड रुपैयाँ ब्याज भुक्तानी भएको हो। 

मंसिर महिनामा १० अर्ब ४५ करोड रुपैयाँ सरकारले भुक्तानी गरेको हो। जसमा ४ अर्ब १७ करोड रुपैयाँ सावाँ र ६ अर्ब २८ करोड रुपैयाँ ब्याज भुक्तानी भएको छ। 

पुस महिनामा २४ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी भएको छ। जसमा १७ अर्ब ७९ करोड रुपैयाँ सावाँ र ६ अर्ब ६६ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ। 

विदेशी सहयतामा कति निर्भर छ बजेट?
आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये वैदेशिक सहायताबाट २ खर्ब ६२ अर्ब ६९ करोड २१ लाख व्यहोरिने अनुमान छ। 

सोमध्ये अनुदानबाट ४९ अर्ब ९४ करोड ३० लाख र ऋणबाट २ खर्ब १२ अर्ब ७४ करोड ९१ लाख परिचालन गरिने अनुमान छ। गत आर्थिक वर्षमा वैदेशिक सहायताबाट जम्मा २ खर्ब ९७ अर्ब ७१ करोड ९४ लाख परिचालन गरिने सुरु अनुमान रहेकोमा संशोधित अनुमान २ खर्ब ८ अर्ब ९९ करोड ७७ लाख रहेको थियो।

यो वर्ष पनि सरकारले बजेट लक्ष्य संशोधन गरिसकेको छ। अर्थ मन्त्रालयले मध्यावधि समीक्षामार्फत वैदेशिक अनुदानबाट ४० अर्ब १२ करोड ९ लाख र वैदेशिक ऋणबाट १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख रुपैयाँ खर्च गर्ने गरी लक्ष्य संशोधन गरेको हो।

सहायता प्रतिबद्धता
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ५९ अर्ब ९७ करोड ८६ लाख बराबरको वैदेशिक सहायताको प्रतिवद्धता प्राप्त भएको छ। 

सोमध्ये अनुदान सहायता २० अर्ब २७ करोड ८६ लाख र सहुलियतपूर्ण ऋण सहायता ३९ अर्ब ७० करोड रहेको छ। 

613
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja