2026/07/30

६ वर्षपछि लोसपा र जप्रपा मिल्दै

Admin
Admin

२०८०-११-०५

505
Shares
६ वर्षपछि लोसपा र जप्रपा मिल्दै

६ वर्षपछि लोकतान्त्रिक समाजावदी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी एक ठाउँमा आउने भएका छन्। पहिले एउटै दलमा भएर पनि यी दुई नेता २०७४ सालको निर्वाचनअघि नै छुट्टिएका थिए।

लोसपाका सचिव मनीष मिश्रले लोसपा र जप्रपाबीच कार्यगत एकता हुने निश्चित भएको बताए। एकदुई दिनमा यसको घोषणा हुने उनको भनाइ छ।

‘कार्यगत एकता गर्न जप्रपाले हामीलाई प्रस्ताव पठाएको छ। त्यसबारे छलफल भइरहेको छ,’ मिश्रले भने, ‘अब एकदुई दिनमा टुंगो लाग्छ।’ कार्यगत एकता भइसकेपछि यी दुई पार्टीबीच एकीकरण हुने सम्भावना रहेको उनको भनाइ छ।

२०७४ सालमा तराई/मधेस केन्द्रित तत्कालीन ६ दलबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएपछि त्रिपाठी एकीकृत पार्टीको अध्यक्ष मण्डलको सदस्य हुन चाहेका थिए। तर ठाकुरले त्रिपाठीलाई अध्यक्ष मण्डलको सदस्य बनाएनन्। त्यसपछि त्रिपाठी ठाकुरसँग रुष्ट थिए।

२०७४ सालको निर्वाचनअघि उनले तत्कालीन राजपा छाडेर स्वतन्त्र भएका थिए। २०७४ सालको आम निर्वाचनमा उनी नेकपा एमालेको चिह्नबाट चुनाव लडेर प्रतिनधिसभा सदस्य बनेका थिए। त्रिपाठीले २०७९ सालमा जप्रपा खोलेका थिए।

 यो पार्टी अहिले निष्क्रिय छ। २०७९ सालको निर्वाचनमा यस पार्टीले कहीँ पनि सफलता हासिल गर्न सकेन। ठाकुर र त्रिपार्ठी लामो समय एक ठाउँमा थिए। तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा ठाकुर अध्यक्ष र त्रिपाठी सहअध्यक्ष थिए।

505
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja