2026/06/06

प्राविधिक शिक्षाको ‘गन्तव्य’ बन्दै मंगलसेन

Admin

२०८०-११-२५

449
Shares

अछाम — मधेश प्रदेशको बाराबाट पढाइका लागि सिम्रौनगढ नगरपालिका–११ का १८ वर्षीय केशव पाठक गत वर्ष अछाम आइपुगे । कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ की ज्योती भाट पनि फार्मेसी पढ्नकै लागि अछाम आइन् ।

पाठक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभीटी)बाट मान्यता प्राप्त आंगिक कलेजको रुपमा रहेको मंगलसेन बहुप्राविधिक शिक्षालयमा छात्रवृत्तिमा एचए (हेल्थ असिस्टेन्ट) पढ्न अछाम आएका हुन् । गत वर्षदेखि मात्रै पढाइ सुरु भएको मंगलसेनमा छिमेकी दाईबाट अछाममा एचए पढाइ हुने उनले थाहा पाए ।

सिटिइभिटिले मंगलसेनका लागि ३ जनालाई दिने पूर्ण छात्रवृत्ति कोटामा उनी छनोटमा परे । आफन्त, साथीभाई र परिवारले पनि पढ्नका लागि अछाम जाने भनेपछि अचम्म मानेको उनी बताउँछन् । ‘सुदूरपश्चिमका मान्छे पढ्नलाई काठमाडौं जनकपुरसम्म आउँछन् , तिमी त्यता किन जाने भनेर सोध्ने गर्थे,’ उनले भने,‘धनगढीसम्म आएर छात्रवृत्तिको लागि परिक्षा दिँदा छनोट भएँ । त्यसपछि अछाममा पढ्न आउने टुंगो लाग्यो ।’

नेपाली भाषा बोल्न नै समस्या भएका उनलाई सुदूरपश्चिमको बोलीभाषासँग घुलमिल हुन भने समय लाग्यो । ‘आफ्नै जिल्लाको पनि धेरै ठाउँबारे जानकारी थिएन । अचानक अछाम आउँदा त कहाँ पो आइपुगे जस्तो लाग्यो । हामीलाई भोजपुरी भाषा नै सजिलो लाग्छ । सुरुमा त भाषाकै समस्या भयो,’ उनले भने,‘अछाम आएर पढ्दाको एक वर्षे अनुभवमा सोचेभन्दा राम्रो पढाइ भइरहेको छ । अहिले त भाषा पनि बुझ्न थालेको छु ।’

सुदूरपश्चिममा ९ जिल्लालाई २/२ कोटा छुट्याइएको छ । सोही कोटामा छनोट भएपछि उनी पढ्नका लागि अछाम आइन् । उनी ३ वर्षकै हुँदा बुवा बेपत्ता भए । उनीसहित ३ दिदीबहिनी मामाघरमा बस्दै पढे । महेन्द्रनगर, धनगढीका निजी कलेजमा प्राविधिक विषय पढ्न सन्छिकी भनेर उनले धेरै प्रयास गरिन् । निजी कलेजले ३ वर्षे कोर्समा कलेजको शुल्क मात्रै ५ लाखजति लाग्ने भनेपछि उनले पढ्ने आँट गरिनन् ।

‘निजी कलेजमा फी मात्रै लगभग ५ लाखजति हुने रहेछ । त्यत्रो पैसा खर्च गरेर पढाउने घरको अवस्था थिएन । कोठा भाडामा लिएर बस्दा त ८/१० लाख नै खर्च हुने रहेछ । अब पढ्न सकिन्न भनेर बसेकी थिएँ’ उनले भनिन्,‘अछाममा पनि पढाइ हुन्छ भन्ने थाहा पाएपछि यहाँ पढ्नकै लागि आएकी हुँ । १ लाख ३४ हजार कलेजको शुल्क रहेछ । यति त जसरी पनि तिर्न सकिन्छ भनेर आमाले नै पठाउनु भएको हो ।’

पढ्नका लागि तराइबाट पहाड आउन लाग्दा धेरै मासिक तनाव खेप्नु परेको उनको अनुभव छ । ‘पहाडका मान्छे तराई पढ्न आउँछन्, त्यता के पढाइ होला भनेर धेरै सुनाउँथे । सुरुमा त मलाई पनि होकी जस्तै लाग्थ्यो’ उनले भनिन् ,‘यहाँ आइसकेपछि ठिक गरेछु पढ्न आएर भन्ने लागेको छ । निजीमा महंगो शुल्क तिरेर पढ्न नसक्ने मजस्ता विद्यार्थीको लागि धेरै राहत भएको छ ।’

जुम्लाको सिंजा गाउँपालिका–४ की २१ वर्षीया सुवा रोकायाको फार्मेसी पढेर श्रीमान्ले सुरु गरेको अधुरो सपना पुरा गर्ने इच्छा मंगलसेन बहुप्राविधिक शिक्षालयले गरेको छ । ३ वर्ष अगाडी १८ वर्षको उमेरमा बिहे गरेकी सुवाका श्रीमानको एक वर्षअघि मृत्यु भयो । फार्मेसी पढेर मेडिकल चलाउँदै आएका श्रीमानको मृत्यु भएपछि उनी विक्षिप्त भइन् ।

उनका साथमा २ वर्षका छोरा पनि छन् । ‘श्रीमानको अचानक मृत्यु भएपछि मेरो संसारै ढले जस्तो भयो । राम्रोसँग चलिरहेको मेडिकल चलाइ दिने अर्को मान्छे पनि कोही भएन । घर र माइतीबाट पनि अब पढेर तिमीले नै चलाउनु पर्छ भनेर मलाई सम्झाउन थाले’ सुवाले भनिन्,‘छोरोको भविष्यको लागि र श्रीमानले चलाएको मेडिकल चलाउनका लागि मैले पनि पढ्नु पर्छ भन्ने सोचेँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फार्मेसी पढ्नका लागि प्रवेश परिक्षा दिए । तर वैकल्पिकमा परेँ । अन्ततः मेरो एक इच्छा अछामले पुरा गरिदिने भयो ।’

आंगिक क्याम्पसको रुपमा रहेको मंगलसेन बहुप्राविधिक शिक्षालय अहिले सुदूर, कर्णाली र देशका विभिन्न क्षेत्रका विद्यार्थीको रोजाइमा पर्न थालेको शिक्षालय प्रमुख तिर्थ आर्चायले बताए । उनका अनुसार एचए दोस्रो वर्ष र फार्मेसी पहिलो वर्षका कक्षाहरुमा १ सय २० जना विद्यार्थी पढिरहेका छन् । जसमा ६१ जना छात्रा रहेका छन् । पहिलो वर्ष हतारमा भर्ना प्रक्रिया सुरु भएकाले सबै ठाउका विद्यार्थी आउन नसकेकोमा यस वर्ष भने देशैभरीबाट विद्यार्थी आएको उनले बताए ।

‘अहिले अछाम बहुमुखी क्याम्पसले उपलब्ध गराएको भवनबाट पढाइ रहेका छौं । शिक्षालयको आफ्नै भवन पनि बनिरहेको छ । यही आवमा संभवतः सर्छौं’ आर्चायले भने,‘धेरै ठाउबाट पढ्का लागि विद्यार्थी आउन चासो दिने गरेका छन् । यसले पनि हामीलाई उत्साह थपेको छ ।’

449
Shares

©News Kunja 2021-2026. All rights reserved.