2026/10/24

प्रदेश सरकारको बजेटमा रजाईं ,पानी बिनाका धारा , कामदारले ज्याला पाएनन्

Admin
Admin

२०८०-१२-२६

585
Shares
प्रदेश सरकारको बजेटमा रजाईं ,पानी बिनाका धारा  , कामदारले ज्याला पाएनन्

अछाम — अछामको मंगलसेन नगपालिका–१२ मा गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट मंगलसेन नगरपालिका–१२ छापडाँडामा ८ वटा पानीका धारा बनाउने गरी १० लाख रुपैयाँको योजना आयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अछाममातहतमा योजनाको काम सम्पन्न भयो । 

योजनाको उपभोक्ता समितिमा रहेका रमेश विष्टले योजनाको १० लाख रुपैयाँ भुक्तानी पनि सोही कार्यालयबाट लिए । तर अहिलेसम्म ती ८ धारामा पानी पनि आएको छैन । सबै सामग्री आफैं किन्ने गरी रामारोशन गाउँपालिका–५ का मानबहादुर बुढाले ५ लाखमा ८ वटा पानीका धारा निर्माण गर्ने ठेक्का लिएको बताए । ‘डेढ महिनासम्म धारा निर्माणका लागि सबै सामग्री आफैं खरिद गरेँ । १४ जना कामदार लगाएर योजना सम्पन्न गरेँ । तर उपभोक्ता समितिका अध्यक्ष विष्टले भने उनलाई अहिलेसम्म ज्याला र खरिद सामग्रीको पैसा दिएका छैनन्,’ उनले भने । पटक–पटक उपभोक्ता समितिका अध्यक्षलाई सम्पर्क गर्न खोज्दा कुनै प्रतिक्रिया नदिएको उनले बताए ।

‘हामी यसैगरी श्रम गरेर गुजारा चलाइरहेका छौं । धारा निर्माणको काम छ भन्ने थाहा पाएपछि मैले गाउँका १४ जना लिएर गएँ,’ उनले भने,‘जुन मुहानबाट पानी ल्याउने भनिएको थियो । त्यता पानी नै थिएन । पानी नभएको ठाउँमा धारा बनाइएका थिए । हामी त कामदार मान्छे पानी छ–छैन, हामीलाई त्यो विषयमा मतलब भएन । हामीले काम गरेको ज्यालासमेत पाएनौं । मंगलसेनमा रहेको खानेपानी कार्यालयमा जाँदा भुक्तानी भइसकेको छ भन्ने जानकारी पायौं । हामीले ती धारा ५ लाखमा बनाएका हौं । भुक्तानी भने १० भएको सुनेका छौं ।’

उपभोक्ता समितिका सदस्यसमेत रहेका मंगलसेन नगरपालिका–१२ का बम रावतले पहुँचको भरमा योजना ल्याएर मनोमानी गरेको आरोप लगाए । ‘मलाई कुनै खबर नगरी घरबाट नागरिकता लगेर मलाई उपभोक्ता समितिमा राखेको थाहा पाए । धारा बनाइएका छन् पानी आएको छैन,’ उनले भने,‘कामदारले पैसा पाएका छैनन्, धारामा पानी छैन । तर भुक्तानी भइसक्यो ।’

८ वटामध्येको एक धारा पार्वती मावि छापडाँडामा बनाइएको र पानी नआएको विद्यालयका प्रधानाध्यापक नरबहादुर विष्टले बताए । ‘गाउँमा पानीका धारा बनाउँदै छन् भन्ने थाहा पाएपछि एक धारा विद्यालयलाई पनि मागेका हौं । धारा बनेको १५ दिन जति पानी आएको हो । त्यसपछि आएको छैन,’ उनले भने, ‘बजेट कताबाट आयो ? कति आयो ? हामीलाई केही थाहा छैन ।’

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आएको बजेटबाट पानीका धारा निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अछामका प्रमुख मुकेश सोडारीले बताए । ‘सबै सर्भे गरेरै योजनाको काम सुरु भएको हो । अहिले पानी ल्याइएको मुहानमा पानी सुकेको छ । अर्को मुहानबाट पानी ल्याएर त्यता हाल्छु भनेर उपभोक्ता समितिका अध्यक्षले सम्झौता गरेका रहेछन् । सुरुको १५ दिन जति पानी पनि आयो । पछि उहाँहरूबीच के कुरा मिलेन अर्को मुहानबाट पानी दिइएन,’ उनले भने, ‘अर्को मुहानबाट पानी खोजेर अहिलेका बनेका धारामा पानी कसरी ल्याउन सकिन्छ भनेर हामी फिल्डमा गएर हेर्छौं ।’

उपभोक्ता समितिका अध्यक्ष रहेका रमेश विष्टले आफूले काम गर्दागर्दै पनि असहयोग भएको बताए । ‘पानीका धारा बनेका छन् । मुहानमा पहिरो गएपछि पानी आउन सकेको छैन,’ उनले भने,‘कामदारसँग मेरा पहिलेबाट नै व्याक्तिगत कारोबार पनि भइरहेको हो । अहिले अनावश्यक राजनीति गरेर मेरो बदनाम गरेपछि जे गर्नु छ गर्नुस् भनिदिएको छु ।’

585
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja