नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ।
पूर्वउद्योगमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध एकजना महिलाले फौजदारी कसुरको जाहेरी हालेकी हुन्। मुलुकी अपराध संहिता–२०७४ अनुसार बस्नेतविरुद्ध ती महिलाले जिल्ला प्रहरी परिसर काठमाडौंमा हुलाकमार्फत जाहेरी दिएकी हुन्।
एमालेकै सदस्यसमेत रहेकी ती महिलाले भ्रूण हत्या, बलात्कार र डाँका चोरी प्रकरणमा प्रतिवादी बनाएर जाहेरी दिएकी हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी भूपेन्द्र खत्रीले हुलाकमार्फत आएको जाहेरी दर्ता गरिसकेको बताएका छन्।
'हो, हुलाकमार्फत जाहेरी आएको थियो', उनले भने, 'आवश्यक प्रक्रिया अघि बढाएका छौँ।'
जाहेरी दिएकी ती महिलाले आफूलाई पटक पटक बलात्कार गरेर बस्नेतले भ्रूण हत्या गर्न बाध्य पारेको जिकिर गरेकी छन्।
उनले काठमाडौं महानगरपालिका–१० बिजुलीबजारस्थित सनसाइन अपार्टमेन्ट र भारतमासमेत बलात्कार गरेको दाबी गरेकी छन्।
उनले आफूसँगको सम्बन्धपछि बस्नेतले भ्रूण हत्या गर्न बाध्य पारेको पनि बताएकी छन्। उनले बस्नेतलाई मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गराएको कसुरमा कारबाही माग गरेकी छन्।
ती महिलाले बस्नेतविरुद्ध डाँका चोरीको पनि आरोप लगाएकी छन्। गत फागुन ८ गते बिजुली बजारस्थित अपार्टमेन्टमा छिरेर डाँका चोरी गरेको आरोप पनि उनले लगाएकी छन्।
ती महिलाका अनुसार बस्नेतले आफू पनि आएको भन्दै झुक्याएर दुई जना युवालाई अपार्टमेन्टमा छिराएर कुटपिटसमेत गर्न लगाएका थिए। त्यसपछि आफ्नो साथका दुईवटा मोबाइल र अन्य विद्युतीय सामान लगेको दाबी उनले गरेकी छन्। नेपालखबर